
काठमाण्डु, २२ माघ– नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल साँझ ५ बजेपछि खुल्ने भएको छ ।
संसद विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले संवैधानिक परिषदमा गरिएको नियुक्ति असंवैधानिक भन्दै विरोधमा आमहड्ताल घोषणा गरेको हो ।
निर्वाचन आयोग, अख्तियार, दलित आयोग र जनजाति आयोगसहित ११ संवैधानिक आयोगमा सिफारिस ३२ मध्ये ३० जनाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए । प्रचण्ड नेपाल–समूहको एक दिने हड्तालको प्रभाव काठमाण्डु उपत्यकासहित देशैभर परेको छ ।
हड्तालका कारण लामो तथा छोटो दूरीका सवारी साधन चलेनन् । यस्तै उद्योगधन्दा, कलकारखाना, बजार–पसल र शिक्षण संस्था ठप्प प्रायः रहे । बन्दकर्ताले ठाउँठाउँमा सवारी साधन र पसलमा आगजनी तथा तोडेफोड गरेका छन् । प्रहरीले देशभरबाट सयौं बन्दकर्तालाई नियन्त्रणमा लिएको छ ।