सुवास नेम्वाङको दाबी निर्वाचन आयोगद्वारा खारेज

काठमाण्डु टुडे २०७७ माघ १६ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, १६ माघ– निर्वाचन आयोगले नेकपाका दुवै समूहमध्ये कसैलाई पनि आधिकारिकता प्रदान नगरेको स्पष्ट गरेको छ ।

आयोग सदस्य ईश्वरी पौडेलले दुवै दललाई मान्यता नदिएको बताए । आयोगले शुक्रबार विवादबारे छलफल गर्न नेकपाको ओली र प्रचण्ड–नेपाल समूहका पाँच÷पाँच नेतालाई आफ्नो कार्यालयमा बोलाएको थियो । ओली समूहका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसहित आयोग पुगे ।

तर, प्रचण्ड–नेपाल समूहले दुवै अध्यक्षसहित नेताहरु उपत्यका बाहिरका कार्यक्रममा गएकाले उपस्थित हुन नसक्ने जवाफ आयोगलाई पठायो ।

आयोग पदाधिकारीसँग भेटेर बाहिरिने क्रममा ओली समूहका नेता नेम्वाङले दल विभाजनसम्बन्धी विवादमा निर्वाचन आयोगले निर्णय दिइसकेको र कुनै विवाद नहरेको भन्दै आफ्नो समूहलाई आधिकारिकता प्रदान गरेको रुपमा व्यख्या गरे । तर, आयुक्त पौडेलले उक्त दाबी अस्वीकार गरे । पौडेलले नेकपाको दुवै समूह आधिकारिकता दाबी गर्न नआएको स्पष्ट गरे ।

उनले निर्वाचन आयोग ऐनको धारा ४४ (१) अनुसार आधिकारिकताका लागि निवेदन दिनुपर्ने बताए । ‘तर, अहिलेसम्म दुवै समूहले हामी आधिकारिक हौं भन्ने दाबी ऐनको व्यवस्था अनुसार गर्नुभएको छैन’, पौडेलले भने, ‘त्यसैले कसैले पनि मलाई आधिकारिकता दियो भन्ने मिल्दैन ।’

पौडेलले दुवै समूह पार्टीमा गरिएको हेरफेरलाई मान्यता दिलाउन धारा ५१ अनुसार आएकाले आधिकारिकतामा प्रवेश गर्न नसकिएको स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us