
कास्की, ६ माघ– छात्रालाई होटलमा लगेर परीक्षा दिन लगाउने तीन शिक्षक पक्राउ परेका छन् ।
प्रहरीले पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माविका तीन शिक्षकलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा विद्यालयका प्रधानाध्यापक पोखरा महानगरपालिका–१८ कास्कीकोटका ४८ वर्षीय सूर्य सुर्य तिवारी तथा शिक्षकहरु रुपा गाउँपालिका–४ का ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा महानगरपालिका–२० भलामका ४० वर्षीय शिरिषकुमार बस्ताकोटी छन् ।
उनीहरुमाथि परीक्षाको मर्यादाविपरीत विद्यालयको कक्षा ११ मा अध्ययनरत एक छात्रालाई ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयको आंशिक परीक्षा होटलमा दिन लगाएको र यौनजन्य दुव्र्यवहार गर्न खोजेको आरोप लागेको छ ।
कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले गत २ माघमा परीक्षा केन्द्रबाहिर लगेर परीक्षा दिन लगाउने शिक्षकमाथि कारबाही गर्न पत्राचार गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुविरुद्ध शिक्षा ऐनअन्तर्गत कारबाही अगाडि बढाउने तयारी भएको हमालले बताए । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।