काठमाण्डु, २८ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ को संज्ञा दिएकामा आपत्ति जनाएका छन् ।
मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफूसँग्र जनयुद्ध लडेर आएका तर, पछिल्लो समय ओलीको पक्षमा लागेका नेताहरुले ओलीको अभिव्यीक्तबारे सोच्नुपर्ने बताए । प्रचण्डले एमाले र माओवादी एकता गर्दा र त्यसपछिका दस्तावेजमा ओलीले हस्ताक्षर गरेको र ती सबैमा जनयुद्ध स्वीकार गरिएको स्मरण गरे ।
‘के जनयुद्ध कुहिएकै फर्सी हो त ? प्रतिक्रान्तिमा लागेकाहरूलाई तपाईंहरूले सोध्नुहोला,’ कार्यकर्तालाई प्रचण्डले भने, ‘जनयुद्वसम्बन्धी उल्लेख गरिएका यसअघिका राजनीतिक प्रतिवेदनमा केपी ओलीले हस्ताक्षर गरेका छन् के त्यो कीर्ते हस्ताक्षर थियो ? उनले जनयुद्धबाट आएका नेताहरु आफूले गरेको संघर्षलाई कुहिएको फर्सी भन्नेसँग पदका लागि टाँसिएको देखेर उदेक लाग्ने बताए । उनले ती नेताहरुलाई लाज लाग्नुपर्ने पनि उल्लेख गरे । ओलीले प्रतिनिधिसभा विकटन गरेपछि माओवादी जनयुद्धमा लडेका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साहलगायत ओली समूहमा लागेका छन् । ओलीमा लागेबापत थापाले गृहमन्त्रीमा निरन्तरता र बाँकीले मन्त्री पद पाएका छन् ।
प्रचण्डले ओलीको हाँस्यव्यङ्य र उखान टुक्काले देश नचल्ने बताए । उनले पदको नभई ओलीसँग आफूहरुको विचार संघर्ष भएको उल्लेख गरे ।