काठमाण्डु उपत्यकाको तापक्रम माइनसमा झर्ने

काठमाण्डु टुडे २०७७ पुष १७ गते ७:५८ मा प्रकाशित

काठमाण्डु, १७ पुस– काठमाण्डु उपत्यकाको तापक्रम बिहीबार शून्यमा झरेको छ। बिहीबार बिहानको तापक्रम ०.८ डिग्री मापन भएको छ ।

यो तथ्यांक यस वर्षकै कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत मंगलबार उपत्यकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस थियो । गत वर्ष डिसेम्बर ३१ तारिखमा उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री रेकर्ड भएको थियो ।

मध्य हिउँदको अवधि अझै बाँकी रहेकाले चिसो अझै बढ्न सक्ने महाशाखाका अधिकारीको ठहर छ । ‘हिउँदे वर्षा अझै भएको छैन । वर्षासँगै उच्च भेगमा हुने हिमपातको प्रभावले स्वाभाविक रूपमा देशैभर चिसो बढ्छ’, महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले भने । अहिले पश्चिमी वायु बलियो नभएकाले तत्काल हिउँदे वर्षाको सम्भावना नरहेको सापकोटाले बताए ।

वर्षा नभए पनि काठमाडौं उपत्यकासहित अन्यत्र तापक्रम घट्नेक्रम जारी छ । बिहीबार जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५, दिपायलको ०.४, वीरेन्द्रनगरको १.९ डिग्री मापन भएको छ। मौसमविद् अंग्रेजी महिनाका डिसेम्बर, जनवरी र फेब्रअरीलाई मध्य हिउँदे अवधिका रूपमा बुझ्ने गर्छन् ।

भू–मध्य सागरको वायु अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु कस्मिर हुँदै मुलुकको सुदूरपश्चिमी भेगबाट प्रवेश गर्छ । सोही प्रभावले नेपालसहित छिमेकी मुलुकमा हिमपात र हिउँदे वर्षा हुने गर्छ। सो प्रभाव अहिले कमजोर भएकाले हिउँदे वर्षाको असर नदेखिएको मौैसमविद् बताउँछन् । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us