
काठमाण्डु, १२ पुस– नेकपाको प्रचण्ड–माधव नेपाल पक्षका स्थायी समिति सदस्य धनश्याम भुसालले वैशाखमा निर्वाचन हुने कुरा कसैले पत्याउनै नसक्ने बताएका छन् ।
भुसालले मध्यावधि निर्वाचन गर्नका लागि नभई देखाउन मात्र घोषणा गरिएको उनको भनाइ छ । भुसालले निर्वाचनमा जाने प्रक्रिया र बाटो नै गलत रोजिएकाले वैशाखमा निर्वाचन हुने कुरा पत्याउनै नसकिने स्पष्ट गरे । रुपन्देहीको तिलोत्तमामा आइतबार प्रचण्ड–नेपाल पक्षद्वारा आयोजित सभामा निवर्तमान कृषि तथा पशुपंंक्षी विकासमन्त्री समेत रहेका भुसालले भने, ‘निर्वाचन गर्नका लागि निर्वाचन घोषणा गरिएको होइन, वैशाखमा निर्वाचन हुन्छ भनेर कसैले पत्याउँछ र ?’ भुसालले वैशाखअघि नै प्रतिनिधिसभा पुर्नस्थापना हुनेसमेत दाबी गरे ।
भुसालले पूर्वराजा ज्ञानेन्द्रले विघटन गरेको संसदसमेत पुर्नस्थापित भएको स्मरण गर्दै अहिले पुर्नस्थापना नहुने प्रश्नै नआउने उल्लेख गरे । पार्टीका सबै कमिटी र संसदीय दलमा अल्पमतमा परेका ओलीले असंवेधानिक रुपमा संसद विघटन गरेको चर्चा गरे । भुसालले आफूसमेत सरकारमा सहभागी रहेको भन्दै पार्टीले सरकारका काममा कहिल्यै बाधा नहालेको सुनाए ।
‘एमसीसी पारित गर्ने विषय राष्ट्रको हितमा छैन भनेर पार्टीले रोकेको हो’, उनले भने, ‘हामी पनि सरकारमै थियौं, पार्टीले जनताका पक्षमा काम गर्न कुनै दिन अवरोध गरेको थाहा पाइएन ।’