सर्वत्र आलोचना भए पनि ओलीले फेरि भेटे राष्ट्रपति

काठमाण्डु टुडे २०७७ पुष ४ गते २२:०८ मा प्रकाशित

काठमाण्डु, ४ पुस– प्रधानमन्त्री केपी ओलीले सर्वत्र आलोचनाबीच फेरि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

ओली राष्ट्रपति भेट्न शनिबार साँझ शीतलनिवास पुगेका थिए । पछिल्लो समय ओलीले आफ्नै मन्त्रिपरिषद सदस्यलाई समेत छलेर सिफारिस गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिले तत्काल प्रमाणीकरण गरेकी थिइन् । यसपटक पनि यसअघि झैंसरकारको छायाँ र सत्तारुढ नेकपाको पनि ओली गुटको सहयोगी भूमिकामा उत्रिएको भन्दै राष्ट्रपतिको आलोचना जारी छ ।

चौतर्फी विरोधपछि नेकपा स्थायी समितिमा बिहीबार अध्यादेश फिर्ता लिने प्रतिबद्धता गरेका प्रधानमन्त्री ओलीले अझैसम्म त्यसबारे ठोस निर्णय लिएका छैनन् । राष्ट्रपतिसँगको परामर्शमा अध्यादेश फिर्ता लिने बताएका उनले सोही विषयमा वा थप कदम चाल्नेबारे परामर्श गरेका हुन् भन्ने खुलेको छैन ।

राष्ट्राध्यक्षको भूमिकामा रहेकी राष्ट्रपतिसँग बाक्लो भेटघाट गर्ने गरेको भन्दै ओलीको विरोध हुने गरेको छ । उनले त्यसको प्रवाह गर्ने गरेका छैनन् ।

ओली शनिबारै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न उनको निवास खुमलटार पुगेका थिए । त्यताबाट फर्कने क्रममा पुलचोकस्थित मन्त्री क्र्वाटर पसेका ओलीले गृहमन्त्री रामबहादुर थापासँग भेटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us