सर्वोच्चको मुद्दा फैसलामा सुधार

काठमाण्डु टुडे २०७७ साउन ३ गते ७:०७ मा प्रकाशित

काठमाण्डु, ३ साउन– सर्वोच्च अदालतको मुद्दा फस्र्योट दरमा सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७६/७७ मा सर्वोच्चमा एक हजार ५६६ थानभन्दा बढी मुद्दा फस्र्योट भएका छन् । यसमा निवेदन तथा प्रतिवेदनको सङ्ख्या उच्च छ ।

सर्वोच्चले जिम्मेवारी सरेका समेत ३५ हजार १३१ मध्ये दस हजार ७५९ थान मुद्दा फस्र्योट गरेको छ । फरक रूपमा गरिएको पेसी व्यवस्थापनका कारण कोरोना भाइरस (कोभिड–१९) असहज अवस्थामा पनि मुद्दा फस्र्योट दरमा सामान्य सुधार भएको सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले जानकारी दिए । उनले माघ १९ गतेबाट हामीले नियमित मुद्दासँगै निवेदन तथा प्रतिवेदनको फरक पेसी व्यवस्थापन गरेका छौँ ।
.कोरोनाको असहज अवस्थामा पनि हामी निश्चित प्रकृतिका निवेदन र प्रतिवेदनको सुनुवाइ गरेका छौँ । यसकारण पनि फस्र्योट दरमा हामीले सुधार गरेका हौँ भने । सर्वोच्चमा अघिल्लो वर्षका जिम्मेवारी सरेका २३ हजार ९५२ थान मुद्दा थिए भने ११ हजार १७९ नयाँ दर्ता भए । कुल लगत ३५ हजार १३१ मध्ये दस हजार ७५९ थान मुद्दा फस्र्योट गरिएको छ ।

कुल मुद्दाको ३२ दशमलव ३५ प्रतिशत फस्र्योट गरिएको छ । यो दर अघिल्लो वर्षको तुलनामा दुई दशमलव ४३ प्रतिशतले बढी हो । कुल सङ्ख्यामा एक हजार ५६६ थान बढी फस्र्योट भएका हुन् । सर्वोच्चमा चालू वर्षका लागि २४ हजार ३७२ थान मुद्दाको जिम्मेवारी सरेको छ । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us