नेपालीहरुलाई भड्काउने गरी आयो भारतको विज्ञप्ति

काठमाण्डु टुडे २०७७ वैशाख २७ गते २२:४५ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख– भारतले लिपुलेक हुँदै तिब्बतको मानसरोबर जाने सडक आफ्नै भूमिमा बनाएको जिकिर गरेको छ ।

नेपालमा भारतले आफ्नो भूमिबाट सडक निर्माण गरेको भन्दै चौतर्फी निन्दा भइरहेका बेला भारतको पलिहो प्रतिक्रिया आएको हो । भारतीय विदेश मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै नेपाली भूमि नछोई सडक निर्माण गरिएको जिकिर गरेको छ ।

पैदल हिंडेर कैलाश मानसरोबर जाने पुरानै बाटो पछ्याएर सडक निर्माण गरिएको दाबी भारतको छ । यस्तै भारतले सीमा विवाद समाधानका लागि गठित द्विदेशीय संयन्त्रमा छलफल गरेर कूटनीतिक रुपमै समस्याको सामाधान खोज्न प्रतिबद्ध रहेको जनाएको छ ।

भारतले दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक हुँदै कैलाश मानसरोबरसम्म तीर्थयात्री जाने सडक निर्माण गरेको हो । उक्त सडकको शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत उदघाटन गरेका थिए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सुगौलि सन्धिअनुसार नेपालमै पर्ने भूमिमा सडक निर्माण गरेको भन्दै उक्त कार्य तत्काल रोक्न आग्रह गर्दै भारतको ध्यानाकर्षण गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us