बाबुराम र हिसिलाविरुद्ध जाहेरी लिन प्रहरीद्वारा अस्वीकार

काठमाण्डु टुडे २०७७ वैशाख १५ गते १९:३९ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख– प्रहरीले पूर्वप्रधानमन्त्री एवं नवगठित जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईविरुद्ध जाहेरी लिन अस्वीकार गरेको छ ।

सत्तारुढ नेकपानिकट युवा र विद्यार्थी संगठनले दिन खोजेको जाहेरी प्रहरीले लिन नमानेको हो ।
ती दुई संगठनका प्रतिनिधि बाबुराम, उनकी पत्नी हिसिला यमी, तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डे र आङकाजी शेर्पाविरुद्ध साइबर क्राइम मुद्दा दर्ताका लागि भन्दै सोमबार महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।

उनीहरुले प्रधानमन्त्री केपी ओलीसहित नेकपा नेतृत्वको चरित्र हत्या गरेकाले साइबर अपराधमा कारबाही गर्न युवा र विद्यार्थी संगठनको माग छ ।

तर, प्रहरीले साइबर क्राइम लगाउन नमिल्ने भन्दै सरकारी वकिलमार्फत अदालतमा मुद्दा दायर गर्न सुझाव दिएर फर्काइदिएको हो ।

यसअघि नेता भट्टराई आइतबार आफ्ना पार्टीका डा. सांसद सुरेन्द्रकुमार यादवको अपहरण भएको दाबीसहित नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण मुद्दा दर्ताका लागि काठमाण्डु परिसर पुगेका थिए ।

उक्त मुद्दा पनि प्रहरीले जाहेर गर्न अस्वीकार गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us