बाबुरामले बिगारिदिए प्रधानमन्त्रीको नामः श्री ७ खड्गशमशेर

काठमाण्डु टुडे २०७७ वैशाख १२ गते १६:४० मा प्रकाशित

काठमाण्डु, १२ वैशाख–समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली सत्तामा रहुञ्जेल लोकतन्त्रमाथि खतरा भइरहने बताएका छन् ।

मन्त्रिपरिषदले दुई विवादास्पद अध्यादेश फिर्ता लिएलगत्तै ट्वीट गर्दै भट्टराईले ओलीले सरकार छाड्नुपर्ने संकेत गरेका छन् । उनले समाजवादी पार्टीतर्फ हानेको अध्यादेशको गोली लागेर आफैं घाइते भएको टिप्पणी गरेका छन् । ओलीले अध्यादेश ल्याएर श्री ७ खड्गशमशेर बन्न खोजेका ओलीले अध्यादेश फिर्ता लिएको भन्दै भट्टराईले उनी र उनको आडमा भएको गम्भीर अपराध नलुक्ने बताए ।

‘समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैंतिर फर्केर घाइते भएपछि श्री ७ खड्गशमशेर बन्ने सपना देखेका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएछन्’, भट्टराईले ट्विटमा लेखेका छन्, ‘यसबीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानबिन/कारबाही हुनैपर्छ । उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ । सावधान !’

भट्टराईले आफ्नो पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्रीको निर्देशनमा जनकपुरबाट अपहरण गरेर काठमाण्डु ल्याइएको आरोप लगाएका थिए ।

सांसद यादवलाई एमाले सांसद एवं नेता महेश बस्नेत, तनहुँका सांसद किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबार राति काठमाण्डु ल्याएका थिए । एक होटलमा राखिएका यादव बिहीबार बिहानै त्यहाँबाट निस्किएर समाजवादी पार्टीको सम्पर्कमा पुगेका थिए ।

यद्यपि बस्नेत, श्रेष्ठ र खनाल सबैले अपहरण नभई आफूहरु सल्लाहमा सँगै काठमाण्डु आएको दाबी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us