यस कारण घट्यो शिवम् सिमेन्टको खुद नाफा

काठमाण्डु टुडे २०७६ माघ २८ गते ११:५५ मा प्रकाशित

काठमाण्डु , २८ माघ— शिवम् सिमेन्ट लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सार्वजनिक गरिएको वित्तीय विवरणमा कम्पनी सञ्चालनबाट आम्दानी घटेपछि खुद नाफा घट्न थालेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ करोड ६५ लाख रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनबाट ५ अर्ब २२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १३ लाख रुपैयाँ घटेर १ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ।

४ अर्ब ४० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको शेयरधनी कोषमा ३ अर्ब ६४ लाख रुपैयाँ र शेयर प्रिमियममा ९४ करोड २ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९७ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ७० पैसा कायम भएको छ।

त्यसैगरी, सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २३.३६ गुणा रहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us