न्युजिल्याण्ड विरुद्ध भारतको ‘स्विप’

काठमाण्डु टुडे २०७६ माघ १९ गते १७:१० मा प्रकाशित

एजेन्सी– भारतले न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृखंला ५–० ले जितेको छ । पाँचौं तथा अन्तिम टी ट्वान्टी खेलमा भारतले सात रनको सामान्य अन्तरको जित हात पारेको हो ।
माउन्ट मनगनुईमा सम्पन्न पाँचौं तथा अन्तिम टी ट्वान्टीमा भारतले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले नौ विकेटको क्षतिमा मात्र १५६ रन जोड्न सक्यो ।

१७ रनमै तीन विकेट गुमाएको न्युजिल्याण्डको पारीलाई विकेटकीपर ब्याट्सम्यान टिम सैर्फट र रोस टेलरले सम्हाले । दुबैजनाले चौथो विकेटका लागि ९९ रनको उत्कृष्ट साझेदारी गर्दा न्युजिल्याण्ड अन्तिम टी ट्वान्टी जित्ने सम्भावना बढेको थियो ।

तर ५० रन बनाएर ११६ रनको स्थितिमा सैर्फट पेभेलियन फर्किदा न्युजिल्याण्डले थप १७ रन जोड्न रोस टेलरसहितको पाँच विकेट गुमाउन पुग्यो । र सहज जितको अवस्थाबाट ऊ हारको संघारमा पुग्यो ।
भारतका लागि जसप्रित बुमराहले सर्वाधिक तीन तथा नवदीप सैनी र श्रद्धुल ठाकुरले दुई दुई एवम् वाशिंगटन सुन्दरले एक विकेट लिए । बुमराहले चार ओभरमा मात्रै १२ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको भारतले पुरा २० ओभर खेल्दै मात्र तीन विकेटको क्षतिमा १६३ रनको औसत योगफल तयार गरेको थियो । आठ रनकै स्थितिमा सञ्जु सैम्सनको रुपमा पहिलो विकेट गुमाएर भारतले कमजोर सुरुवात गर्न पुग्यो ।

करण लोकेश राहुलले दोस्रो विकेटका लागि रोहित शर्मासँग उत्कृष्ट ८८ रनको साझेदारी गरे । नियमित कप्तान विराट कोहलीलाई आराम दिइदा रोहितले ६० रनको उत्कृष्ट पारी खेलेर टोलीलाई औसत योगफलतर्फ अग्रसर गराए । राहुलले ४५ रन बनाए ।
खेलको म्यान अफ द् म्याच बुमराह घोषित भए । म्यान अफ द् सेरिज भने लोकेश राहुल घोषित भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us