

काठमाण्डु , ६ पुस — प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा नेकपाका नेता बामदेव गौतम पार्टीको उपाध्यक्ष बन्ने निश्चित भएको छ ।
पार्टीको जारी स्थायी कमिटी बैठकले आजै गौतमको उपाध्यक्षमा मनोनयन अनुमोदन गर्ने सम्भावना बलियो भएको बैठकमा सहभागी प्रचण्डनिकट एक स्रोतले बताएका छन् ।
गौतम प्रचण्डका पनि निकटका नेता मानिन्छन् । २०५४ सालमा गौतम गृहमन्त्री भएका बेला पक्राउ परेका माओवादी नेताहरुलाई रिहा गरिदिएका थिए । गौतमको यही गुनका कारण प्रचण्ड पनि उनलाई उपाध्यक्ष बनाउने विषयमा सहमत भएको बताइएको छ ।
तर, उनले गएको निर्वाचनमा पराजय व्यहोरेपछि उनलाई व्यवस्थापन गर्न पार्टीलाई कठिनाइ भइरहेको छ। यही कठिनाइको समाधानका लागि अध्यक्ष ओलीले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव गर्ने भएका हुन्। यो प्रस्ताव प्रचण्डकै सहमतिमा आउने भएकोले अनुमोदन हुने निश्चितजस्तै भएको ती नेताले बताए।
सुरुमा बामदेव गौतक, माधव नेपाल, घनश्याम भुसाल, योगेश भट्टराई लगायत आफू इतर खेमाका नेताहरुलाई पेलेरै जाने नीति लिएका अध्यक्ष ओलीले पार्टीको सचिवालयमा आफू एक्लिने सम्भावना देखिएपछि गौतमलाई उपाध्यक्षमा ल्याउन लागेका हुन् । तत्कालीन एमालेका उपाध्यक्ष र सरकारमा उपप्रधानमन्त्री भइसकेका गौतम पार्टीभित्र प्रभावशाली नेता हुन्।