काठमाण्डु,२१मंसिर–तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को पुरुष फुटबल विधामा नेपालले माल्दिभ्समाथि जित हात पारेको छ ।
माल्दिभ्समाथि नेपालको ३० वर्षपछिको जित हो । नेपालले यसअघि माल्दिभ्समाथि १९८९ को सागमा जित हात पारेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि २–१ को जित हात पारेको छ । नेपालका लागि अभिषेक रिजाल र अनन्त तामाङले एक एक गोल गरे ।
सुरुमा कमजोर देखिएको नेपाली रक्षात्मक पद्धतीको फाइदा माल्दिभ्सले उठायो । उसले पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीमाथि दबाब सृजना गरेको थियो । इब्राहिम महुदीको गोलमा माल्दिभ्सले नेपालमाथि १–० को अग्रता लियो ।
त्यसअघि ११ औं मिनेटमा सुजल श्रेष्ठले गरेका प्रहार क्रसबारमा लागेर फर्किदा नेपालले अग्रता लिनबाट चुक्यो ।
निराश हुन लागेका नेपाली खेल प्रशंसकलाई पहिलो हाफमै गोल गरेर अभिषेक रिजालले खेल बराबरीमा ल्याए ।
उनले ४३ औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिर बललाई नियन्त्रणमा राख्दै गरेका प्रहार गोलमा परिणत भयो । त्यसअघि ४२ औं मिनेटमा अभिषेक रिजालको पासलाई सुजल श्रेष्ठले सुनिललाई दिएपछि उनको प्रहारलाई माल्दिभ्सका गोलरक्षक हुसेन सरीफले विफल तुल्याए ।
दोस्रो हाफ सुरु भएको पाँच मिनेट नबित्दै अनन्त तामाङले नेपाललाई अतिआवश्यक अग्रता दिलाए । उनले ५४ औं मिनेटमा हेडरमार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए ।