
काठमाण्डु , २९ भदौ —शिशु बेचबिखन गरेको आरोपमा नेपाल बाल संगठनका निर्देशक बालकृष्ण डंगोललाई जेल चलान गरीने भएको छ ।
बलात्कृत बालिकाबाट जन्मिएको शिशुलाई विक्री गरेको आरोपमा जिल्ला अदालत, काठमाण्डुले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा डंगोललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
डंगोललाई काठमाण्डु प्रहरीले २९ साउनमा पक्राउ गरेको थियो ।काठमाण्डु प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार डंगोललाई केही दिनअघि अदालतले थुनामा पठाउने आदेश दिएपछि केन्द्रीय कारागार चलान गरिएको छ । अनुसार डंगोलमार्फत ११ लाखमा शिशु खरिद गरेर बेलायत लान खोज्ने डोना स्मिथलाई पनि प्रहरीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
गर्भपतन गराउन पुगेकी बालिकालाई प्रसुति गृहसम्म पठाएको आरोप लागेकी कलंकीको सञ्जीवनी बर्थिङ सेन्टरकी स्टाफ नर्स निर्मला मगरलाई भने ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।निर्मलाले डंगोलसम्म त्यो सूचना पुर्याँएवापत पीडितलाई दिन्छु भनेर १ लाख ३५ हजार रुपैयाँको चेक लिएको अनुसन्धानका क्रममा देखिएको थियो । तर, उनले पीडितलाई २४ हजार रुपैयाँ मात्रै दिएको बयानमा खुलेको थियो ।
शिशुलाई विदेश लैजाने क्रममा गलत कागजपत्र बनाउन सहयोग गरेका ३ जना डाक्टरले भने उन्मुक्ति पाएका छन् । प्रहरीले पनि उनीहरुलाई पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्दा चलाएको थियो ।
उनीहरुलाई अदालतले सामान्य तारेखमा छाड्ने आदेश दिएको जनाइएको छ ।