
काठमाण्डु , २७ भदौ — अब एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा तत्कालका लागि नचल्ने भएको छ ।
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) नयाँ हार्डवेयर जडान गर्न लागेका कारण जुनसुकै बैंकको एटीएम जतासुकै नचल्ने भएको हो । केही दिन अघि चिनियाँ ह्याकरले नेपाली एटीएम मेसिन ह्याक गरी रकम लुटपाट गरेपछि प्राविधिक सुरक्षामा जोड दिन थालिएको छ ।
नेप्से शुक्रबार सूचना जारी गर्दै केही सदस्य बैंकहरुका कार्ड डाटा अनाधिकृत रुपमा प्रयोग गरी विभिन्न बैंकबाट बिदेशी नागरिकहरुले रकम निकालेको सम्बन्धमा, नेपाल सरकार अन्तर्गतको सुरक्षा निकायले आवश्यक अनुसन्धान गरिरहेको तथा सो कम्पनीले संचालन गरेको सिस्टमको समेत विदेशबाट विशेषज्ञ व्यक्तिहरु मगाई फरेन्सिक चेक जाँच गर्ने कार्य गरिरहेको कारण हाल संचालनमा रहेको सिस्टमलाई आंशिक रुपमा मात्र सञ्चालन गरिएको बताइएको छ ।
त्यस्तै नेप्सले नयाँ हार्डवेयर जडान गर्ने क्रममा रहेको तथा सो कार्य पश्चात् विदेशी विशेषज्ञ तथा भिसाको समेत सहमति लिनुपर्ने भएको र खातावालाको रकमको सुरक्षालाई समेत ध्यानमा राखी नयाँ हार्डवेयर संचालनमा नआउँदासम्मको लागि हाल सम्बन्धित बैंकको कार्ड सम्बन्धित बैंकको एटिएम तथा पीओएस मेशिनहरुमा मात्र संचालन गर्न सकिने व्यवस्था मिलाईएको जनाएको छ ।
त्यस्तै भारत बाहेक तेस्रो मुलुकमा कार्ड प्रयोग गर्ने ग्राहकलाई नेपाल राष्ट्र बैंकले हालै गरेको बैकल्पिक व्यवस्था अनुसार सुबिधा लिन सम्बन्धित बैंकमा सम्पर्क गर्नुपर्ने तथा भारतमा रहेका ग्राहकलाई सम्बन्धित बैंकका सम्पर्क व्यक्ति वा प्रभु बैंक तथा ग्लोबल आईएमई बैंकका भारतस्थित सम्पर्क कार्यालयमा सम्पर्क गरी रकम भुक्तानी सम्बन्धी आवश्यक जानकारी लिनुहुन समेत नेप्से अनुरोध गरेको छ । सम्बन्धित बैंकको सम्पर्क व्यक्ति तथा उक्त बैंकहरुको भारतस्थित सम्पर्क कार्यालयको नाम, ठेगाना, सम्पर्क नं। सम्बन्धित बैंकको वेवसाईट मार्फत प्राप्त गर्न सकिने नेप्सले जनाएको छ ।