सरकारको पुर्ण स्वामित्वमा बनेको उदयपुर सिमेन्ट कम्पनीलाई ५० करोड घाटा

काठमाण्डु टुडे २०७६ साउन २४ गते ११:१६ मा प्रकाशित

उदयपुर,२४ साउन— नेपालको सरकारको पुर्ण स्वामित्वमा रहेको देशकै सबैभन्दा ठुलोऔधोगिक क्षेत्र उदयपुर सिमेन्ट लिमिटेडलाई ५० करोडको नोक्सानी भएको छ । सिमेन्ट बिक्री हुने समय चैत देखि साउन सम्म उद्योगको हाइटेन्सन मोटर बिग्रिएर दुई महिना क्लिंकर उत्पादन नहुँदा तथा अन्य विभिन्न कारणले बन्द भएपछि कम्पनीलाई ५० करोड घाटा लागेको हो ।

उद्योग बन्द हुँदा लक्ष्यअनुरुप क्लिंकर उन्पादन र सिमेन्ट बिक्री नभएको उद्योगको तथ्यांकमा उल्लेख छ । निमित्त महाप्रबन्धक नवलकिशोर साह सहितका व्यवस्थापनका कर्मचारीको लापर्बाहीले नै उद्योग राम्ररी चल्न नसकेको स्वयम् उद्योगका कर्मचारी बताए ।
निमित्त महाप्रबन्धक साह पहिलेदेखि उद्योगको हितमा काम गर्ने व्यक्ति नभएको एक कर्मचारीले बताए । उनको नाम मारुती सिमेन्ट उद्योगसँग जोडिने गरेको छ । उद्योगका एक कर्मचारीले नाम उल्लेख नगरीदिने सर्तमा भने, ‘अर्को निजी सिमेन्ट कम्पनीसँग नाम जोडिएको व्यक्तिले कसरी उद्योगको हितमा काम गर्छ ’।

निमित्त महाप्रबन्धक साहले विद्युत्को भोल्टेज हाई–लो भएकै कारण मोटर बिग्रिएको र त्यसमा पनि बुटवलस्थित मर्मत गर्ने प्राविधिकले तोकिएको समयमा मर्मत गरिदिन्छु भनेर झुक्याएकाले लामो समय बन्द हुन पुगेको बताएका छन् । उनले मोटर जडान भइरहेकाले आमागी आइतबारबाट सिमेन्ट उत्पादनको काम थालिने बताए ।

उद्योगले विद्युत् भोल्टेजको गडबढीबाट हाइटेन्सन मोटर बिग्रिएको दाबी गरे पनि विद्युत् प्राधिकरण लहानले भने विगत लामो समयदेखि विद्युत् भोल्टेजमा कुनै गडबढी नभएको प्रस्ट पारेको छ । ‘अहिलेसम्म हाइ–लो विद्युत्को भोल्टेज भएको छैन,’ प्राधिकरण लहानका प्रशासन प्रमुख देवी थुलुङगले भने, ‘आफ्नो कमजोरीलाई लुकाउन प्राधिकरणलाई दोष मात्र लगाउने हो, हामी दाबीका साथ भन्छौं, विद्युत् भोल्टेज प्रवाहमा कुनै गडबढी भएको छैन ।’

हाइटेन्सन मोटरको लाइफ लाइन ग्यारेन्टी भएका कारण बिग्रिन नसक्ने स्वयं उद्योगका कर्मचारी बताउँछन् । सो मोटर नबिग्रिने भएकाले अहिलेसम्म उद्योगले मोटर किनेर जगेडमा राखेको छैन । ‘मोटर नबिग्रिने भएकै कारण कुनै पनि व्यवस्थापन समितिले अहिले कुनै पनि व्यवस्थापन समितिले मोटर किनेको छैन,’ एक कर्मचारीले भने ।

झन्डै ३ देखि ५ करोड पर्ने सो मोटर नबिग्रिने ग्यारेन्टी निर्माण कम्पनीले दिएको ती कर्मचारीले बताए । उनले मोटर बिग्रिएको वा कसैको मिलेमतोमा बिगारेको हो रु त्यसबारेमा सम्बन्धित मन्त्रालयबाट छानबिन हुनुपर्ने बताए ।’ बिग्रिएको हाइटेन्सन मोटर बनाउन भन्दै निमित्त महाप्रबन्धकले मोटर मर्मत सम्भारमा ३० लाख अनावश्यक खर्च गरेको उद्योगका कर्मचारी बताउँछन् ।

बिग्रिएको मोटर बनाउन महाप्रबन्धक साहले नेपाली प्रविधिक टोली परिचालन गरेका थिए । तर, प्राविधिक टोलीले बनाउनुको सट्टा झनै बिगारेपछि उनीहरूलाई हटाएर भारतीय प्राविधिक लगाएर काम गर्न सम्बन्धित विभागले महाप्रबन्धक साहलाई अनुरोध गरेकोमा त्यसलाई बेवास्ता गर्दै उनले नेपाली प्राविधिक लगाउँदा आर्थिक भार बेहोर्नुपरेको कर्मचारी बताउँछन् । ‘नेपाली कामदार लगाएर चाँडै बनेको भए कुनै गुनासो हुने थिएन तर मोटर नबनी उद्योगको ५ लाख रुपैयाँ अनावश्यक रूपमा खर्च हुन गयो,’ ती कर्मचारीले भने ।

दुई महिनापछि झन्डै ३० लाख खर्च गरेर बुटवलबाट सो मोटर बनाएर मंगलबार उद्योगमा ल्याइएको छ । मोटर बनाउन भारतीय प्राविधिकलाई सो रकम भुक्तानी गरेको साहले बताए । मोटर बनाउन जानआउन विभिन्न होटलमा बास र खाना गरी झन्डै ५ लाख रुपैयाँ उद्योगको थप खर्च भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us