विकास निर्माण गर्न केही कुराले छेक्दैन: खनाल

काठमाण्डु टुडे २०७६ साउन १५ गते १८:१६ मा प्रकाशित

इलाम,१५साउन—पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताएका छन् ।
इलाममा आज आयोजीत सूर्योदय नगरपालिकामा ‘२०७६ र ०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण’ समारोहमा उनले मुलुकमा लामो समय राणा शासन, पञ्चायती व्यवस्था र सङ्क्रमणकालीन समय बिते पनि अब भने मुलुक समृद्ध बनाउन कुनै समस्या रहेको बताए ।
पूर्वप्रधानमन्त्री खनालले अहिले मुलुक विकासकै चरणमा रहेको बताउँदै यो समयमा पनि विकासका काम नभएमा मुलुकपछि पर्ने धारणा व्यक्त गरे । उनले १० वर्ष लगाएर निर्माण गरेको संविधान विकासको जग भएको भन्दै अब मुलुकमा विकासको छल्याङ मार्ने बेला भएको बताए । हामीले लामो समय राणाकाल, पञ्चायती व्यवस्थाजस्ता निरङ्कुश शासन व्यवस्था झेलेऊ’, उनले भने ‘अब कुनै पनि निरङ्कुश व्यवस्था छैन । त्यसैले यो समयमा तीव्र विकास गर्नुपर्छ ।’
उनले संविधान निर्माणपछि मुलुकमा अधिनायकवाद समापन भएको, जनतालाई अधिकार सम्पन्न बनाएको र प्रगतिको मार्ग देखा परेको उल्लेख गर्दै सूर्योदय नगरपालिका विकास र प्रगतिमा नेपालकै उत्कृष्ट नगर भएकाले अन्य स्थानीय तहले पनि यसबाट पाठ सिक्नुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा रमणले मुलुक समृद्धिको दिशामा अघि बढेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us