लौ हेर्नुस् पर्यटनमन्त्री योगेश भट्टराईको कहानी

(राजेश राईको सहयोगम) २०७६ साउन १५ गते १७:५७ मा प्रकाशित

नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलाल भट्टराईका कान्छा छोराका रूपमा जन्मिएका हुन् । मध्यमवर्गीय परिवार थियो । तीन दिदी, एक दाजु र एक बहिनी । उनी दुई वर्षको छँदा नै बाबुको निधन भयो ।  बुबा भीमलाल समाजसेवी थिए । शिक्षाको ज्योति फैलाउनुपर्छ भन्ने भावनाले नयाँ विद्यालयहरू स्थापना गर्न प्रेरित गर्थे । स्थापना भएका विद्यालयको दिगोपनाका लागि सकेजति आर्थिक सहयोगसमेत गर्थे । बालबालिकालाई स्कुल पठाउन प्रेरित गर्थे ।  उनले २००८ सालमा २० हजार भारु चन्दा दिएको तेह्रथुम जिल्लाको संक्रान्तिस्थित त्रिमोहन स्कुल पूर्वकै प्रख्यात विद्यालयमा पर्छ । उनको आर्थिक सहयोगमा खुलेका स्कुलहरू अहिले उच्च माविका रूपमा सञ्चालन भइरहेका छन् । योगेशले २०५१ सालमा ताप्लेजुङ ढुंगेसाँघु निवासी विन्दा घिमिरेसँग विवाह गरे ।

मादीको हडतालदेखि केन्द्रीय कारागारसम्म

साँघुकै (मैवाखोला गाउँपालिका) नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सकेर माध्यमिक शिक्षाका लागि योगेश संखुवासभाको मादी माविमा भर्ना भए ।, जहाँ पुग्न उनको गाउँबाट दुई दिनको पैदलयात्रा गर्नुपथ्र्यो । गाउँमा माध्यमिक विद्यालय नभएका कारण २०३७ सालमा उनी मादी पुगेका थिए ।  २०३६ सालको विद्यार्थी आन्दोलनको रापताप विस्तारै गाउँसम्म फैलिँदै थियो । गाउँसम्म अनेरास्ववियुको चर्चा हुँदै थियो । पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिबेला पुगिसकेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले हामहडताल ग-यो । नेपालकै पहिलो ऐतिहासिक हडताल सफल पार्न उहाँ सक्रिय रूपमा सहभागी भए । संगठित हिसाबले उनको राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो । उनी सम्झन्छन्, ‘आमहडताल भनेपछि अनिश्चितकालका लागि होला भनेर हामीले २० दिनसम्म माविमा हडताल ग-यौं ।’

स्वविवेकले आन्दोलनमा होमिएका योगशले स्कुले जीवनपछि भने ताप्लेजुङका अगुवा शिक्षकहरू डिल्ली घिमिरे, हरि घिमिरे, बोलिनन्द फागोबाट राजनीतिक सम्पर्क र शिक्षा पाए । एसएलसीपछि उच्च शिक्षाका लागि २०४० सालमा राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भए । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा (विषाक्त दूधका विरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै पहिलोपटक काठमाण्डुको केन्द्रीय कारागारमा थुनिए । सरल, सक्रिय, स्पष्ट र जुझारु स्वभावका कारण महेन्द्ररत्न क्याम्पसको नेतृत्व लिन उनलाई धेरै समय लागेन । छोटो समयमै क्याम्पसमा लोकप्रिय र जुझारू नेताका रूपमा स्थापित भए । २०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा अत्यधिक मतले विजयी भए । देशभरिका हजारौं विद्यार्थीको उपस्थिति रहेको त्यो मञ्चमार्फत उनको राजनीतिक यात्राले एउटा उचाइ प्राप्त गरिसकेको थियो ।

पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उनले थुप्रैपटक जेलनेल र कठोर यातना भोग्नुप¥यो । जेल बसाइका बेला झापा संघर्षका अगुवाहरू केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तक्र्रिया गर्ने अवसर पाए । जसबाट राजनीतिक यात्रालाई अझ निखर बनाउन सहयोग पुग्यो । यही क्रममा उनले अनेरास्ववियुको काठमाण्डु जिल्ला कमिटीको सदस्य तथा बाग्मति अञ्चल कमिटीको सचिवको जिम्मेवारी सम्हाले । आन्दोलन र राजनीतिक जिम्मेवारीसँगसँगै उनले आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहेका थिए । त्यहीबीचमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र÷मानवशास्त्रमा स्नातकोत्तरसमेत गरे ।
पञ्चायती व्यवस्थालाई समाप्त गर्न पञ्चायती चुनावलाई उपयोग गर्ने पार्टी नीतिलाई कार्यान्वय गर्ने सिलसिलामा २०४३ सालमा भएको निर्वाचनमा केही समय काठमाण्डुमा र बाँकी समय ताप्लेजुङका सम्मानित व्यक्तित्व अम्बिका साँवाको चुनावी अभियानमा बिताए । जनपक्षीय उम्मेदवार साँवाको चुनाव प्रचारका क्रममा रातिराति साथीभाइसँग संगठन गर्दै जनताको घरआँगनमा मकैभटमास खाँदै हिँडेको सम्झना अहिले पनि उनीसँग ताजै छ । साँघुमा चुनाव प्रचार गरिरहेको बेला २०४८ साल वैशाख १० गते सिनाममा एमालेका कार्यकर्ता इन्द्र थेबे र रुकमान थेबे हत्याको खबर सुन्नुप¥यो । हत्याको खबरले उनलाई दुःखित त बनायो तर त्यसलाई अझ शक्तिका रूपमा ग्रहण गर्दै अघि बढ्नुको विकल्प थिएन । उनले त्यसै गरे ।

जनआन्दोलनका जुझारु नेता
योगेश २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भए। बसाइ त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित होस्टेलमा थियो । त्यसबेला उनको जिम्मेवारी अखिलको केन्द्रीय सदस्यका रूपमा थियो । जनआन्दोलनका लागि अखिल र नेविसंघबाट समन्वय गर्ने समिति थियो । त्यो महत्वपूर्ण समितिमा अखिलका तर्फबाट समन्वयको जिम्मेवारी योगेशलाई दिइएको थियो ।  सुरुमा कांग्रेस र वामपन्थीको सहकार्य थिएन । उनीहरूकै पहलकदमीबाट विद्यार्थीहरूले सहकार्यको सुरुवात गरे । नारा तय भयो, ‘आजको आवश्यकता संयुक्त संघर्ष, प्रजातन्त्रको निम्ति पञ्चायतको अन्त्य । २०४६ फागुन ७ गते काठमाण्डुको नयाँ सडकमा प्रर्दशन गर्ने कार्यक्रम थियो । उपत्यकाको कमान्डरका हिसाबले त्यसको व्यापक तयारीमा थिए योगेश । तर, ६ गते राति २ बजे उनलाई पक्राउ गरियो ।

केही दिनपछि सिन्धुपाल्चोकको चौतारामा लगेर राखियो । प्रजातन्त्र आएपछि मात्रै उनलाई छाडियो । पञ्चायतले चुनौतीका रूपमा राखेको विद्यार्थी नेता भएकै कारण आन्दोलनको सुरुमै पक्राउ गरिएको थियो । उनी सम्झन्छन्, ‘२६ गते राति हामीलाई पनि जेलबाट छोडियो । भोलिपल्ट हामीलाई बिहानै गाडीबाट काठमाण्डु ल्याइयो । चौताराबाट आउँदा बाटैभरि रमाइला दृश्यहरू थिए । दोलालघाटमा धेरै मान्छेहरू रातो झन्डा बोकेर नाचगान गरिरहेका थिए । पहिलोपटक त्यति धेरै मानिसले कम्युनिस्टको झन्डा बोकेर निस्किएको देख्दा असाध्यै खुसी लाग्यो । हामी सिधै खुलामञ्च गयौं । खुलामञ्चमा मनमोहन अधिकारी, गणेशमान सिंह, झलनाथ खनाल, कृष्णप्रसाद भट्टराई, साहना प्रधान, गिरिजाप्रसाद कोइरालालगायतले बोल्नुभयो । प्रजातन्त्र आएको त्यो दिन हर्ष र गौरवको दिन थियो ।’

सडकदेखि अनेरास्ववियुको केन्द्रीय अध्यक्षसम्म

२०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गर्नुभएका योगेश संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अध्यक्ष रहे । बहुदलीय व्यवस्था आइसकेपछि पनि गरिएका जनघाती तथा राष्ट्रघाती कदमका विरुद्ध काठमाण्डु उपत्यकामा भएका सडक संघर्षहरूको नेतृत्व उनले गरे ।  जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय हत्याविरुद्धको आन्दोलनमा अगुवाइ उनले नै गरे । यस्तै, अनेक आन्दोलनबाट खाँरिदै, माझिँदै युवा जोस र उत्साहका साथ अघि बढिरहनुभएका योगेशले खासगरी २०५०/०५१ सालतिर शिथिल भएको नेपाली विद्यार्थी आन्दोलनलाई नेपाली समाजमा पुनःस्थापित गराए ।
नेपाली विद्यार्थी आन्दोलनको प्यारो संगठन अखिल (अनेरास्ववियु) लाई नेपाली कम्युनिस्ट आन्दोलनको सफलताको संवाहक शक्तिका रूपमा स्थापित गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । मुलुकमा राष्ट्रवादी आन्दोलनको अगुवा शक्तिका रूपमा विद्यार्थी संगठनलाई स्थापित गरे । यी र यस्ता धेरै योगदान र सक्रियताले योगेश नेपाली विद्यार्थी आन्दोलनको पर्याय नै भए ।

आज पनि युवाहरू अखिल भन्नेबित्तिकै योगेश भट्टराईलाई सम्झन्छन् । उनी अनेरास्ववियुको अध्यक्ष भएका बेला सबैभन्दा बढी ७३ प्रतिशत क्याम्पसका स्ववियुमा अखिलले ऐतिहासिक सफलता हासिल गरेको थियो । उनी भन्छन्, ‘हाम्रो पालामा पहिलोपटक ७३ प्रतिशत कलेजमा स्वावियु चुनाव जित्यौं । विद्यार्थी आन्दोलनलाई शैक्षिक ऐजेन्डातिर केन्द्रित ग¥यौं ।’ विद्यार्थीलाई विभिन्न सार्वजनिक स्थल तथा सार्वजनिक सवारीसाधनमा छुट गराउने आन्दोलनको नेतृत्व पनि उनले नै गरेका थिए । जुन सुविधा अहिले पनि विद्यार्थीहरूले उपभोग गरिरहेका छन् ।

राष्ट्रियताको आन्दोलनका अगुवा
योगेशको आमव्यक्तित्व नेपाली राष्ट्रियताको पक्षमा संगठित ढंगले आवाज बुलन्द गर्ने एक देशभक्त तथा प्रखर राष्ट्रवादी नेताका रूपमा स्थापित छ । यसर्थ, उनी नेपाली राष्ट्रियताका सच्चा पहरेदार हुन् । राष्ट्रवादी आन्दोलनका अनेक महत्वाकांक्षी कार्यक्रमलाई कार्यान्वयन गरेर उनले यो यथार्थलाई पुष्टि गरेका छन् । उनकै नेतृत्वमा भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता अभियान सम्पन्न भयो । २०५५ जेठमा काठमाण्डुदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाण्डु कालापानी मार्चको नेतृत्व गरेर आफ्नो राष्ट्रवादी छविलाई झन् अग्लो पारे । त्यहीदेखि कालापानी मुद्दा राष्ट्रिय बहसको साझा विषय बनेको थियो । कालापानी बचाउने आन्दोलन अघि बढिरहँदा नेपालका ६२ स्थानमा भारतले सीमा अतिक्रमण गरेको प्रमाण सार्वजनिक गरियो । पूर्व पाँचथरको च्याङ्थापुदेखि सुस्ता, महेशपुर, टनकपुर हुँदै कालापानीसम्मको सीमासुरक्षा अभियानको अगुवाइ योगेशकै नेतृत्वमा भयो । यसरी उनी वैदेशिक हस्तक्षेपविरुद्ध आन्दोलनमा आफूलाई अग्रभागमा उभ्याउन सफल भएका छन् । त्यस्तै, उनले २०४५ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइ गरे । २०७१ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध पार्टीका नेताका रूपमा आन्दोलनको अगुवाइ गरे । नेपालको सार्वभौम, स्वतन्त्र, नेपाली नेपालीबीचको एकताको पक्षमा उनले सम्झौताहीन संघर्ष गर्दै आएका छन् ।
अप्रिल क्रान्तिका कमाण्डर

योगेशले २०६२÷०६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा एमाले काठमाण्डु उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गरे । उपत्यकामा आन्दोलनको उभार ल्याउनमा उनको नेतृत्वदायी भूमिका थियो । आन्दोलनमा उपत्यकाभित्र अन्य राजनीतिक दल, नागरिक समाज तथा १२ बुँदे सहमतिपश्चात् तत्कालीन माओवादीलाई समेत समन्वय गर्न अग्रणी भूमिका खेले । जनक्रान्तिका बेला उनका योगदानको प्रशंसा र सम्झनामा लेखिएका हजारौं लेख, रचनाले उनको छवि राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित गरायो ।

देश-विदेशको यात्रा
राजनीति गर्ने मानिसले आफ्नो देशको भूगोल, इतिहास र संस्कृतिको न्यूनतम ज्ञान राख्नुपर्दछ भन्ने मान्यता बोक्ने योगेशले नेपालका ७२ जिल्लाको भ्रमण गरिसकेका छन् । अन्तराष्ट्रिय सम्बन्ध र ज्ञान पनि उत्तिकै छ । देशभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय सम्बन्धको पनि विशाल सञ्जाल तयार पारिसकेका छन्। भारत, चीन, अमेरिका क्युबा, दक्षिण अफ्रिका, बेल्जियम, पोर्चुगल, जर्मनी, लक्जम्बर्ग, फ्रान्स, बेलायत, जापान, कोरिया, मलेसिया, सिंगापुर, न्युजिल्यान्ड, स्विजरल्यान्ड, चेक रिपब्लिक, अस्ट्रिया, रुस, ब्राजिल, कतार, साउदी अरब, दुबई, बहराइन, साइप्रसलगायत देशको भ्रमण गरिसकेका छन् । उनले ती देशको भ्रमणबाट त्यहाँको राजनीतिक, सामाजिक तथा अन्य विभिन्न पक्षको अध्ययन गरी सकारात्मक पक्षलाई आफ्नो देशको विकास नीतिमा समाहित गराउन पहल गरिरहेका छन् । विभिन्न देशका राजनीतिक दल, सरकार तथा अन्य विभिन्न संघसंस्थाले उनलाई अतिथिका रूपमा आफ्ना विचार राख्न निरन्तर आमन्त्रण गरिरहन्छन् । उनको यो अन्तर्राष्ट्रिय भ्रमणले नेपाल र नेपालीलाई विश्वभर चिनाउन तथा नेपाली राजनीतिलाई अन्तर्राष्ट्रिय समुदायको मनमा राख्न उल्लेख्य सहयोग गरेको छ ।
पार्टी जीवन
२०३९ देखि तत्कालीन नेकपा (माले) सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहनुभएका योगेशले पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटीसम्म काम गरेका छन् । २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा एमालेको आठौं महाधिवेशनबाट अत्यधिक मत ल्याई केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए । उनी पार्टीको नवौं महाधिवेशनबाट पार्टीको सचिव पदमा निर्वाचित भए । उनी मदन भण्डारी, नेल्सन मन्डेला र मार्टिन लुथर किङलाई आफ्नो आदर्श मान्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us