सर्लाही हत्या प्रकरणमा संसदीय छानबिन समिति गठन नगरे संसद अवरुद्ध गर्छौं : राजपा अध्यक्ष

काठमाण्डु टुडे २०७६ साउन १२ गते १४:१९ मा प्रकाशित

काठमाण्डु, १२साउन—राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले भोलिसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले सर्लाहीमा भएको हत्या प्रकरण गैरन्यायिक र संविधानको बर्खिलापमा रहेको दाबी गरे । उनले भने,‘हामीले सदनभित्र यो हत्या प्रकरणको बारेमा सत्य, तथ्य छानबिन हुनुपर्छ भनेर आवाज उठाईरहेका छौं । तर, अहिलेसम्म सरकारले संसदीय समिति गठन गरेको छैन् । भोलिसम्म पनि समिति गठन नगरे हामी भोलि बस्ने सदनपनि अवरुद्ध गर्छौं ।’ यादवले वर्तमान सरकार मनोमानी र एकलौटी ढंगले अगाडि बढेको आरोप लगाए । उनले भने,‘यो सरकारले लोकतन्त्रलाई संकुचित गर्दै अघि बढेको छ ।
कायक्रममा बाल्दै संयोजक यादवले तत्काल संसदीय समिति गठन गर्नुपर्ने आफूहरुको अडान कायमै रहेको सुनाए । यादवले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामी पार्टीको महाधिवेशन निर्धारित मिति कात्तिक २८, २९ र ३० गते नै गर्छौं । हाम्रो मुख्य ध्यान नै त्यतातर्फ छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us