केपी ओलीद्वारा पहिलोपटक क्षमायाचनाः म लज्जित छु, क्षमा चाहन्छु

काठमाण्डु टुडे २०७६ असार २६ गते २१:४७ मा प्रकाशित

काठमाण्डु, २६ प्रधानमन्त्री केपी ओली आफूलाई सही लागेको विषयमा चट्टानी अडान लिने नेता हुन् । गलतै सही तर, ओली आफूलाई ठीक लागेको कुरामा अडिन्छन् र त्यसको बचाउ गर्छन् ।

विरोधीले आफ्नो कुराको खण्डन गर्दा उनी आक्रोशित हुन्छन् र कोरा झरौ शब्द प्रहार गरी विरोधीमाथि जाइलाग्छन् । यही शैलीका कारण उनले धेरै आलोचक जन्माएका छन् । कतिपय आँखा चिम्लेर ओली शैलीका समर्थन गर्ने पनि छन् ।  ओलीले राजनीतिक जीवनमा सायदै सार्वजनिक रुपमा गल्ती महसुस गर्दै माफी मागेका छन् । तर, सम्भवतः पहिलोपटक प्रधानमन्त्री ओलीले बिहीबार माफी मागेका छन् । भारतको दबाबमुलम पत्रपछि सरकार नेपाल भित्रने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेको भन्दै ओलीको सत्तारुढ नेकपाभित्रै चर्को विरोध भयो । प्रतिपक्षी काँग्रेस त सडक र सदनबाटै सरकारको उक्त कदमको विरोधमा उत्रिएको छ । सामाजिक सञ्जालमा सरकार आलोचित बनेको छ ।

प्रधामनन्त्री ओली त्यसबाट आगो भएका थिए । उनले १७ असारमा बसेको नेकपा संसदीय दल बैठकमा भारतीय दबाबसामु झुकेर फलफूल र तरकारीमा विषादी जाँच नगर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै विरोध गर्ने सांसदहरुको झाँको झारे । भारतबाट कुनै किसिमको दबाबमुलक पत्र नआएको दाबी उनले गरेका थिए । दबाबमा नभई बिनातयारी निर्णय गर्दा विषादी परीक्षण हुन नसकेको प्रष्टीकरण दिएका थिए । जब सञ्चार माध्यममा भारतीय पत्र सार्वजनिक भयो, तब ओली छाँगाबाट खसेजस्तो भए । प्रधानमन्त्रीले झुठो बोलेको भन्दै सञ्चार माध्यमले समाचार बनाए । सोही विषयमा आफ्नो भनाइ गलत सावित भएपछि ओली माफी माग्न बाध्य भएका हुन् ।

ओलीले भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई परराष्ट्र मन्त्रालयले गुमराहमा राखेको भन्दै क्षमा मागे । ुसंविधान कार्यान्वयन र प्रशासनिक पुर्नसंरचनाु विषयक कार्यशाला गोष्ठीलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसमा आफूलाई झुक्याइएको र आफ्नो दाबी गलत भएकाबाट लज्जित भएको बताए । ‘पत्र आएको रहेछ तर मलाई जानकारी दिइएन, यसबाट म लज्जित भएको छु, क्षमायाचना गर्छु,’ उनले भने । उनले नियतबस वा लापरबाहीले त्यसो हुन गएको भन्नेबारे आफूले बुझिरहेको र यदि कसैले नियत राखेर त्यस्तो काम गरेको पाइए एक्सन लिने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us