
काठमाण्डु, २६ असार–सरकारले प्रतिपक्षी नेपाली काँग्रेस प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको पक्षपोषणमा लागेको आरोप लगाएको छ ।
विप्लवका असंवैधानिक र हिंसात्मक गतिविधिलाई काँग्रेसले खुलेर समर्थन गरेको आरोप सरकारको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले विप्लव समूहप्रतिको आधिकारिक धारणा सार्वजनिक गर्न काँग्रेससँग माग गरे । हिंसा गर्ने विप्लव समूह र सरकारलाई हेर्ने दृष्टिकोण कसरी समान हुन सक्छ भन्दै उनले प्रश्न गरे । ‘काँग्रेसले हिंसाको राजनीतिबारे स्पष्ट गर्नुपर्छ’, बाँस्कोटाले भने, ‘उहाँहरु किन दिनभरि बीपी रातभरि विप्लव भनिरहनुभएको छ ? भोजपुरमा प्रहरीका हत्यारमाथि प्रतिकार गर्दा काँग्रेसले विरोध गरेको भन्दै आपत्ति जनाए । बाँसकोटाले हिंसात्मह समूहको सहारा लिएर सरकारलाई घेराबन्दीमा पार्ने सपना नदेख्न काँग्रेसलाई चेतावनी दिए ।