थुनियो काठमाण्डु महानगरको ढल, दुर्गन्धले महामारी फैलने त्रास

काठमाण्डु टुडे २०७६ असार २६ गते ७:२७ मा प्रकाशित

काठमाण्डु, २६ असार काठमाण्डु महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ ।

ढल थुनिँदा महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतला फेरि डुबानमा परेको छ । महानगरपालिका र वडा कार्यालयले ढल निकासका लागि सोमबार डोजर लगाएर केन्द्रीय कारागारका प्रहरी बस्दै आएको दुई कोठे भवन भत्काएका थिए । भवन भत्काएपछि डोजरले खनेर ढलको पानीलाई निकास दिइएको थियो । तर खनेको ठाउँमा ह्युमपाइप नहालेका कारण मंगलबारदेखि फेरि ढल थुनिएको हो ।

सोही भवनका कारण ढल थुनिएपछि निकासका लागि भत्काइएको थियो ।  ढलको पानी थुनिएर दर्जनौँ कार्यालय र पसल रहेका भवनमा भुइँतला पोखरीमा परिणत हुँदा दुर्गन्ध फैलिएको छ । दुर्गन्धले महामारी फैलिने त्रास पनि बढेको छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us