सँगै चियापान, त्यसपछि दोहोरो गोली हानाहान

काठमाण्डु टुडे २०७६ असार २६ गते ७:०२ मा प्रकाशित

भोजपुर, २६ असार- सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबलमा बसेर चिया खाइरहेका थिए ।
दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे । चन्द समूहका ओखलढुंगा इन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै गफिँदै थिए ।  प्रत्यक्षदर्शीका अनुसार नीरकुमार दुई दिनयता चिया पसलमा आउने जाने गरिरहेका थिए । बुधबार पनि बिहानै आएर अरु मान्छेसँग ‘हाइहेल्लो’ गरिरहेका थिए ।
करिब ८ बजे सञ्जीव आइपुगे । दुवैले ‘दाइभाइ’ को साइनो पनि लगाए । अभिवादन साटासाट गरे । सञ्जीव सुराकीका लागि चिया पसल छिरेका थिए । गफकै क्रममा नीरकुमारले सञ्जीवलाई भने, ‘विप्लवको पार्टीमा लाग्यो भन्दैमा किन खेदो गर्छौ ? पार्टीमा लाग्नु आस्थाको कुरा हो ।’  सञ्जीवले सहज ढंगले उत्तर फर्काए, ‘हामी दुवै राई भएकाले भाइभाइ हो । के गर्नु र ?’ सञ्जीवले यति भनेपछि नीरकुमार पिसाब गर्न जाने भन्दै पसलबाट निस्किन खोजे । सञ्जीवले नीरकुमारको पाखुरा समाते । ‘गफ गरौँ, तपाईं कहाँ जान लागको ? अहिले अरु साथी आउँदै छन्,’ सञ्जीवको भनाई उद्धृत गर्दै प्रत्यक्षदर्शीले सुनाए ।
दुवैबीच तानातान भयो । तानातानकै क्रममा नीकुमार र सञ्जीव होटल बाहिर पुगिसकेका थिए । चन्द समूहका कार्यकर्ताले सञ्जीवलाई गोली प्रहार गरे । त्यति नै बेला सादा पोसाकमा हातहतियारधारी प्रहरी पनि घटनास्थल आइपुगे । प्रहरीले पनि नीरकुमारमाथि गोली प्रहार गरे । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us