
काठमाण्डु, २५ असार– काँग्रेस सांसद गगनकुमार थापाले सभामुख कृष्णबहादुर महराले संसदलाई सरकारको छायाँका रुपमा चलाउन खोजेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकपछि सञ्चारकर्मीसँग थापाले संसद सरकारको छायाँमा सीमित हुँदै गएको टिप्पणी गरे । थापाले स्वतन्त्र भूमिकामा बस्नुपर्ने सभामुख महरा सरकारको आदेशपालक भएको बताए । सरकारले प्रतिपक्षी दललाई पेलेर जाने खोजेको र त्यसमा सभामुखले सहयोगीको भूमिका निर्वाह गरेको उनको भनाइ थियो । सर्लाहीमा प्रहरीको गोली लागि मारिएका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेल हत्या छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै काँग्रेसले बुधबार पनि संसद चल्न दिएन । यसअघि मंगलबारको बैठकमा सभामुख महराले समिति गठनका लागि समय चाहिने भन्ने आग्रह गरेकाले आफूहरुले पर्खेको तर, कानूनमन्त्री भानुभक्त ढकाललेको दबाबमा महराले समिति गठनको आदेश दिने तत्परता नदेखाएकाले विरोध गर्नुपरेको थापाले जनाए ।
‘एकपटक फेरि नेपालको संसद नेपालको सरकारको छायाँको रुपमा सीमित भएको छ । सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न सक्नुभएको छैन । संसदप्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिहरुको भरोसा के रहन्छ ?’, थापाले भने, ‘पेलेरै जाने रवैया, नियत राख्नुभएको छ । यसले सभामुख दिनप्रतिदिन हाम्रो विश्वास गुमाउँदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ ।’
संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिइने चेतावनी थापाले दिए ।
‘संसदीय छानबिन समिति बनाउने सवालमा सरकार पक्षका सांसदहरुले हामी तयार छैनौँ भन्नुभयो । कानुनमन्त्रीले तयार छैन भनेपछि उहाँहरुले जे भन्नुभयो सभामुखले त्यही मान्नुभयो’, थापाले भने । उनले प्रमुख प्रतिपक्षका तर्फबाट एकजना सांसदले कुरा राख्न समय माग्दासमेत सभामुखले नखिएको बताए । ‘हिजोको बैठकमा मन्त्रीले भन्नुभयो म संसदीय समितिको सामना गर्न तयार छु । सभामुखले भन्नुभयो म पोजेटिभ छु । बनाउँछु । तर त्यसपछाडि उहाँ आज प्रमुख प्रतिपक्षी दल उठ्दै गर्दा संसद चलाउन तयार हुनुहुन्छ । आफैं पोजेटिभ भएको छानबिन समिति बनाउन तयार हुनुहुन्न भनेपछि यो संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैले संसद चलाइरहेको छ ?’, थापाले प्रश्न गरे । सर्लाही घटनाले लोकतन्त्रलाई नै खतरामा पर्ने संकेत देखिएकाले आफूहरुले विरोध गरेको बताए ।