
काठमाण्डु, २५ असार– सर्वोच्च अदालतले काभ्रेका अर्जुन लामा हत्या प्रकरणमा नेकपा नेता एवं पूर्वमन्त्री अग्नि सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएको उजुरी मगाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपक कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आयोगमा भएको निवेदनको प्रतिलिपी झिकाउन आदेश दिएको हो । सशस्त्र माओवादी जनयुद्धका क्रममा लामाको हत्या भएको थियो ।
हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै लामा पत्नि काभ्रे जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले २०७२ चैत १२ मा उक्त विषको टुंगो संवैधानिक अदालतबाट लगाउनुपर्ने ठहर गरेको थियो ।