
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उत्पादनमा कर लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नीतिको आलोचना गरेका छन् ।
ट्रप्मले आगामी दिनमा अमेरिकी सामानमा थप कर लगाइए स्वीकार्य नहुने चेतावनी दिएका छन् । अमेरिकी उत्पादनमा कर लगाउने मोदी सरकारको नीतिमा पुनर्विचार नगरिए कडा कदम चाल्न बाध्य हुने चेतावनी ट्रम्पको छ । यद्यपि कस्तो कदम चालिने भन्नेबारे उनले खुलाएनन् । ‘भारतले अमेरिकी उत्पादनमा लामो समयदेखि कर लगाउँदै आएको छ’, मंगलबार ट्विट गर्दै ट्रम्पले भनेका छन्, ‘अब यसलाई सहन सकिँदैन ।’
यसअघि पनि ट्रम्पले गत जुनमा भएको जी–२० बैठकको पूर्वसन्ध्यामा ट्विटमार्फत नै अमेरिकी उत्पादनमा भारतमा लाग्दै आएको २८ प्रतशित कर हटाउन आग्रह गरेका थिए । जापानको ओशाकामा बसेको जी–२० बैठकपछि करबारे ट्रम्प–मोदी साइडलाइन वार्ता भएको थियो ।
अमेरिका र भारतबीच गत जुनदेखि कर विवाद जारी छ । जुनमा अमेरिकाले भारतसँगको कारोबारमा यसअघि दिँदै आएको विशेष छुट अन्त्यको घोषण गरेको प्रत्युत्तरमा भारतले पनि अमेरिकी उत्पादनमा २८ प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।