
कञ्चनपुर , २५ असार- कञ्चनपुरमा बालिका बलात्कार गर्न सघाएको आरोपमा काकी नाता पर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
चिसो पेय पदार्थमा मादक पदार्थ मिसाएर १४ वर्षीया बालिकालाई बलात्कार गर्न वातावरण बनाइदिएको आरोपमा मंगलबार पीडित बालिकाकी पर्ने ३५ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी महिलाको परिचय प्रहरीले गोप्य राखेको छ ।
प्रहरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिकाको बभनगामाकट्टीस्थित लक्ष्मी बल्लभ नरसिंह माविको कोठामा लगेर बलात्कारको वातावरण बनाइदिएको आरोपमा पक्राउ परेकी ती महिलाले विद्यालय भवन निर्माण कम्पनीका मुन्सी तथा विद्यालयकै कार्यालय सहायकबाट आएको रकमको प्रस्तावको प्रलोभनमा परी बलात्कारको वातावरण मिलाइदिएको बयान दिएकी छन् ।
पीडित बालिकाका अनुसार पारिश्रमिक लिएर विद्यालयबाट सँगै घर फर्कने भन्दै काकीले विद्यालयमा निर्माण कम्पनीको काम गर्ने मुन्सी र विद्यालयका कार्यालय सहायक शिवशंकर मण्डल बसेको कोठामा लगेर नास्ता खान लगाएकी थिइन ।
प्रहरीमा दिएका बयानमा नास्तासँगै दिइएको चिसो पेय पदार्थमा मदिरा मिसाएर खुवाएर लठ्ठ पारेको र त्यसपछि ढोका बन्द गरेर पालैपालो बलात्कार गरेको बालिकाले बताएकी छन् । महिला पक्राउ परेपछि मुन्सी र कार्यालय सहायक मण्डल फरार छन् । घटना लुकाउन पीडक महिलाले बालिकालाई भूतप्रेत लागेको भन्दै अल्मलाएका कारण घटनाबारे ढिलो जानकारी आइपुगेको जिल्ला प्रहरी कार्यालयका डीएसपी भावेष रिमालले बताए ।
पीडित बालिकाको सोमबार स्थानीय गजेन्द्र नारायणसिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराई बलात्कार घटनामा संलग्न दुवैको खोजी तीव्र बनाइएको डीएसपी रिमालले बताए ।