
काठमाण्डु, २५ असार- गत १७ असारमा बसेको नेकपा संसदीय दल बैठकमा सांसदहरुले फलफूल तथा तरकारीको विषादी परीक्षण रोक्ने सरकारी कदमप्रत्ति आपत्ति जनाए ।
बैठकमा बोलेका करिब ३० सांसदले भारतीय दबाबमा झुकेर सरकार तरकारी परीक्षणबाट पछि हटेको आरोप लगाए । कतिपयले त राष्ट्रवादी नारा दिएर प्रधानमन्त्री भएका केपी ओलीको सरकारले यस्ता काम गर्दा लाज लागेको समेत बताएका थिए । सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओली झोक्किए । उनले पार्टी अनुशासनको दायरा नाघेर जथाभावी नबोल्न सांसदहरुलाई चेतावनी दिए । ओलीले भारतीय पक्षबाट सरकारलाई कुनै दबाब पत्र नआएको प्रष्टीकरण दिए । कसैको पत्रका आधारमा नभई बिना तयारी निर्णय भएकाले विषादी परीक्षण गर्ने यन्त्र अभावमा समस्या भएको बताए । तर, धेरैले प्रधानमन्त्रीको दाबीमा विश्वास गरेनन् । विश्वास हुने कुरा पनि थिए । किनकी भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमा विषादी परीक्षणप्रति असन्तुष्टि जनाउँदै लिखित पत्र पठाइसकेको थियो ।
कसले गुमराहमा राख्यो ओलीलाई ?
भारतीय दूतावासको पत्र परराष्ट्रमा आएर बसेको थियो । तर, प्रधानमन्त्री ओलीलाई कसैले त्यसबारे जानकारी गराएन । मन्त्री, सचिव कसैले पनि प्रधानमन्त्रीलाई दूतावासको पत्रबारे अवगत गराएनन् । सञ्चार माध्यममा आएको समाचारमा प्रधानमन्त्री ओलीलाई विश्वास भएन । मिडियाले जे पनि लेख्छन् भन्ने मानसिकताका कारण उनले त्यसलाई बेवास्ता गरे । जब सञ्चार माध्यममा पत्र सार्वजनिक भयो तब मात्र ओलीलाई पत्र आएको विश्वास भयो । एकातिर दूतावासबाट पत्र नआएको दाबी गर्दै सांसदलाई हप्काइएको छ, अर्कातिर पत्र आएर परराष्ट्रमा थन्किएको छ । त्यी झोकमा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको सातो खाएको दाबी प्रधानमन्त्रीनिकट स्रोतले गरेको छ । स्रोतका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकमै प्रधानमन्त्री ओली रिसाए । परराष्ट्रले आफूलाई गुमराहमा राखेका कारण भारतीय पत्रबारे आफूले बोलेका कुरा झुठोजस्तो हुन गएको उनले बताए ।