
काठमाण्डु, २४ असार सत्तारुढ नेकपाका सचिवालय सदस्य बामदेव गौतमले भारतीय दबाबमा फलफूल तथा तरकारीको विषादी जाँच रोक्ने सरकारको कदमप्रति आपत्ति जनाएका छन् ।
गौतमले भारतीय दबाबमा फलफूल तथा तरकारीको विषादी परीक्षण रोकिनु त्रुटिपूर्ण रहेको बताए । अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहेका गौतमले विषादीयुक्त फलफूल र तरकारीको जाँच गर्ने सरकारको निर्णय सही र नेपाली किसानका पक्षमा भए पनि रोकिनु गलत भएको उल्लेख गरे । महासंघको केन्द्रीय सचिवालय बैठकपछि गौतमद्वारा जारी विज्ञप्तिमा उक्त प्रकरणमा सरकार पछि हट्दा भारतसँगथ आत्मसमर्पण गरेको सन्देश गएको आरोप लगाएका छन् । आवश्यक अनुसन्धान तथा पूर्वतयारीको अभावमा गरिएको भए पनि नेपाल सरकारको सो निर्णय सही र नेपाली किसानहरु तथा आम उपभोक्ताको पक्षमा थियो’, विज्ञप्तिमा गौतमले भनेका छन्, ‘परन्तु भारतीय राजदूतावासले पत्राचार गरेलगत्तै नेपाल पछि हट्ने कार्य त्रुटिपूर्ण छ । यसबाट एकातिर आमनेपाली जनतामा नेपाल सरकारले भारतसँग आत्मसमपर्ण गरेको भ्रम फैलन पुगेको छ ।’
नेपालस्थित भारतीय दूतावासले विषादी जाँच रोक्न नेपाल सरकारलार्ए पठाएको पत्रमा गैरकुटनीतिक भाषा प्रयोग भएकामा आपत्ति जनाएका छन् । उता प्रमुख विपक्षी काँग्रेस विषाक्त तरकारी परीक्षणको मुद्दा उठाएर सडकमा उत्रिएकामा उनले आपत्ति जनाएका छन् । विगतदेखि नै किसानविरोधी नीति बोकेको काँग्रेसले भारतीय पत्रको विरुद्ध हो वा सरकारविरुद्ध सडकमा उत्रिएको हो भन्ने स्पष्ट गर्न काँग्रेसलाई चुनौति दिएका छन् ।