प्रस्तावित राजदूतको हावादारी प्रस्तावः चुरे काटेर बंगलादेशलाई ढुंगा बेचौं, नेपाल धनी हुन्छ

काठमाण्डु टुडे २०७६ असार २३ गते १७:४६ मा प्रकाशित

काठमाण्डु, २३ असार– प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाई विशेष समितिमा सोमबार सरकारले विभिन्न चार देशका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरुको सुनुवाई थियो ।

समिति सभापति लक्ष्मणलाल कर्णले पालैपालो प्रस्तावित राजदूहरुको योजना के छ भन्ने प्रश्न राखे । वंशीधर बंगलादेशका लागि राजदूत प्रस्तावित भएका नेकपा नेता एव पूर्वमन्त्री हुन् । मिश्रले आफ्नो अनौठो भावी योजना सुनाए । उनले बैठकमा नेपालको महाभारत र चुरेको ढुंगा बंगलादेशलाई बेचेर देश धनी हुने योजना सुनाए । उनले एक प्रयासमा तीन काम हुने योजना आफूसँग रहेको बताए । महाभारत शृङखला काट्ने, चुरेमा रहेका बस्ती सार्ने र त्यसबाट आएको ढुङ्गा माटो बंगलादेशलाई बेच्ने योजनाको बेलिविस्तार लगाए ।

भूगर्भविहरुले चुरेको पहाड काट्दा समस्या नहुने बताइसकेको मिश्रले उल्लेख गरे । ‘बंगलादेशलाई डुबानबाट बच्न धेरै ढुंगा माटो चाहिएको छ’, मिश्रले भने, ‘हामीसँग त्यत्रो चुरे छ । ढुङ्गा मात्र निकासी गर्न सकियो भने पनि विकासमा धेरै ठूलो क्रान्ति गर्न सकिन्छ ।’ तर, प्रस्तावित राजदूतको योजना सुनेर मुर्मुरिएका प्रतिपक्षी मात्र होइन, सत्ता पक्षकै सांसदले समेत आपत्ति जनाए । पछि मिश्रले उक्त प्रस्ताव अपरिपक्व रहेको महसुस गर्दै फिर्ता लिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us