विष्णु रिमालको ट्विटः सरकारका विरोधीहरु ‘छौंडा’

काठमाण्डु टुडे २०७६ असार २२ गते १३:०० मा प्रकाशित

काठमाण्डु, २१ असार– प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल विवादास्पद ट्वििट गरेपछि सबैको तारो बनेका छन् ।
रिमालले लाक्षणिक रुपमा छौंडाहरु सल्बलाएको भन्दै सरकारको विरोध गर्नेमाथि हमला बोलेका छन् । उनले कविता ट्विट गरेर सरकारविरोधीलाई छौंडा भनेका छन् । रिमालले छौंडाहरु आफैं नचल्माउने र कसैले छाडेपछि मात्र चल्मलाउने भन्दै छौंडाहरु कसैले छाडेका हुन् कि आफैं चल्मलाएका हुन् ? भन्ने प्रश्न गरेका छन् । ‘भनिन्छ छौंडाहरु आफैं चल्मलाउँदैनन् । कसैले छोड्छन् । दुःख दिन्छन् । यी छौंडाहरु आफैं चल्मलाएका हुन् कि कसैले छोडेका ?’ रिमालले लेखेका छन् । रिमालको छुद्र टिप्पणीप्रति धेरैले आपत्ति जनाएका छन् । रिमालले आफ्नो पदीय हैसियत बिर्सिएर छुद्र टिप्पणी गरेको भन्दै आलोचना भएको छ ।
पछिल्लो समय भारतबाट आयातीय फलफूल तथा तरकारीमा विषादी जाँच गर्ने निर्णयबाट सरकार पछि हटेकामा प्रधानमन्त्री केपी ओलीको तीव्र विरोध भइरहेको छ । सत्तारुढ नेकपाभित्रै राष्ट्रवादी छवि बिकाएर चुनाव जितेर सत्तामा पुगेका प्रधानमन्त्री केपी ओली भारतीय दबाबमा झुकेको आरोप लागेको छ । शनिबार बसेको संसदीय दल बैठकमा सो प्रकरणलाई लिएर सांसदहरुले प्रधानमन्त्रीको कठोर आलोचना गरेका थिए । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त विज्ञप्ति नै जारी गरेर भारतीय दबाबमा सरकार झुकेको त होइन ? भन्ने प्रश्न गरेको छ । यस्तै विपक्षी काँग्रेस र सामाजिक सञ्जालमा प्रधानमन्त्रीको उछितो काडिएको छ ।

आफू प्रधानमन्त्री हुँदा आधा जनसंख्याले माक्स लगाएर हिंड्ने गरेको र एक वर्षको अवधिमा आफूले काठमाण्डुमा माक्स नलगाई हिंड्न सक्ने बनाएको प्रधानमन्त्री ओलीको दाबीप्रति पनि जनस्तरबाट आक्रोश व्यक्त भइरहेको छ । उनले आफूले काठमाण्डु माक्स मुक्त बनाएपको बताएपछि दुई/चार जना सरकारविरोधी माक्स लगाएर सडकमा उत्रिएको प्रधानमन्त्रीको टिप्पणीप्रति पनि कम खिस्सीट्यरी चलिरहको छैन । रिमालको संकेत त्यतैतिर भएको बुझ्न गाह्रो छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us