केपी ओली भन्छन्ः कुरै नबुझी फाइलमा सही गर्दा भारतसँग झुकेजस्तो भयो

काठमाण्डु टुडे २०७६ असार २१ गते २१:५१ मा प्रकाशित

काठमाण्डु, २१ असार– भारतबाट आयातित फलफूल तथा तरकारीमा विषदी परीक्षण गर्ने काम रोकेकामा सत्तारुढ नेकपाकै सांसदहरु सरकारविश्ररुद्ध खनिएका छन् ।

नयाँबानेश्वरस्थित संसद भवनमा शनिबार बसेको नेकपा संसदीय दल बैठकमा सांसदहरुले भारतको दबाबमा झुकेर सरकार विषादी जाँच गर्ने निर्णयबाट पछि हटेको भन्दै आपत्ति जनाए । सबैभन्दा कडा रुपमा नेता भीम रावल प्रस्तुत भए । पछिल्लो समय रावल राष्ट्रियताका सवालमा खरो उत्रँदै आएका छन् । रावलले भारतीय दबाबमा परेर सरकार पछि हटेको भन्ने खबरहरु आएको भन्दै त्यसमा सत्यता भए नभएको जवाफ दिन प्रधानमन्त्रीसमेत रहका अध्यक्ष केपी ओलीसँग माग गरे । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले विदेशीले नगर भन्दैमा विषादी जाँच नगर्नु गम्भीर गल्ती भएको बताए । यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो हितमा काम गर्दा विदेशीसँग झुक्न आवश्यक नरहेको औंल्याए । नेता नेतालले सरकारले नागरिकमा विषादी मिसिएका खानेकुरा खानुनपरेको विश्वास दिलाउन सक्नुपर्ने उल्लेख गरे ।

जवाफमा ओलीले सरकार कसैसँग नझुकेको दाबी गरे । उनले सांसदहरुले उठाएका गम्भीर सवालमा हल्काफुल्का जवाफ दिए । ओलीले बिनापूर्वाधार विषादी जाँच थालिएकाले पछि हट्नुपरेको बताए । नाकामा तरकारी र फलफूलमा विषाद भए नभएको जाँच्ने मेसिन नभएकोबारे आफूलाई जानकारी नहुँदा समस्या आएको बताए । ‘राम्रो गर्न खोजेको हो’, ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले काठमाण्डुटुडेसँग भने, पूर्वाधार छ कि छैन भन्ने नबुझी फाइलमा सही गर्दा यस्तो हुन गयो ।’ सरकारले गत २ असारदेखि भारतीय नाकाबाट भित्रने फलफूल तथा तरकारीमा विषादी जाँच थालेको थियो । तर, नाकामा मेसिन नभएकाले नमुना काठमाण्डु ल्याएर जाँच गरेपछि मात्र सामान छुटाउने गर्दा तरकारी कुहिएको थियो । त्यसैलाई आधार बनाएर नेपालस्थित भारतीय दूतावासले चेकजाँच नगर्न सरकारलाई दबाब दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us