
बैतडी, ५ असार – बैतडीको पुर्चौडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।
पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका भट्टको बिहीबार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।
वडाध्यक्ष भट्ट वडा कार्यालयबाट घर जाँदै गर्दा बुधबार वडा नम्बर ४ को चक्कीबगड भन्ने स्थानमा बा २ ब २५२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका थिए ।
दुर्घटनामा परी गम्भीर घाइते भट्टको जिल्लामा उपचार हुन नसक्दा थप उपचारका लागि कोहलपुर लगिएको थियो । कोहलपुर मेडिकल कलेजमा सघन उपचारकक्ष (आइसियू) राखेर उपचार गर्दै गर्दा भट्टको बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।