
काठमाण्डु, ५ असार– आज देशका धेरै स्थानहरुमा मेघगर्जनसहित पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। देशको पूर्वी भूभागमा मनसुन भित्र्याउने वायु सक्रिय भएसँगै देशको पूर्वी तथा मध्य भागमा पानी पर्ने सम्भावना रहेको मौसम विद्को भनाइ छ।
‘मनसुन भने अझै पनि भित्रिसकेको छैन। पूर्वी भूभागबाट मनसुन भित्र्उने वायु प्रवेश गरेकाले मनसुनी गतिविधि बढेको हो।’ महाशाखाका मौसमविद् वरुण पौडेलले भने । उनका अनुसार बिहीबार पश्चिम तराई र काठमाण्डुसहित मध्य क्षेत्रमा दिउँसो मौसम सफा भए पनि बेलुकीतिर भने पानी पर्ने सम्भावना छ ।
मनसुन सुरु हुने संकेत देखिन थालेकाले अब बिस्तारै तापक्रम घट्दै जाने मौसमविदहरुको भनाइ छ। पछिल्लो साता काठमाण्डु उपत्यकासहित देशभरिको तापक्रम ह्वात्तै बढेको थियो । तापक्रम वृद्धि भएपछि तराईको जनजीवन प्रभावित भएको थियो ।
गत साता शुक्रबार काठमाण्डुको अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस पुग्यो । उपत्यकामा यो तापकक्रम वर्षकै सबैभन्दा धेरै हो । गएको सोमबार दिउँसोदेखि आंशिक तथा सामान्य बद्ली भएर बेलुका पानी परेपछि तापक्रम केही मात्रामा घट्दै गइरहेको छ ।