गुठीलाई पर्यटन मन्त्रालय मातहत राख्न माग

काठमाण्डु टुडे २०७६ असार ४ गते १६:४९ मा प्रकाशित

काठमाण्डु, ४ असार – गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेको छ ।

समितिका संयोजक डा. महेशमान श्रेष्ठले गुठी संस्कृतिसँग सम्बन्धित भएकाले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयअन्तर्गत राख्न सरकारसँग माग गरेका हुन् ।

बुधबार गुठियारहरुले काठमाण्डौको माइतीघर मण्डलामा आयोजना गरेको विशाल प्रर्दशन कार्यक्रममा बोल्दै उनले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत गुठीलाई राख्ने काम गरेकोमा पनि आक्रोश व्यक्त गरे ।

संयोजक श्रेष्ठले सरकारले गुठी विधेयक खारेज नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने पनि स्पष्ट पारे । नेवार समुदायको गुठीको जग्गालाई कब्जामा लिने प्रयास सरकारले गरिरहेकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us