करेन्ट लागेर बालकको मृत्यु, हावाहुरीले दुई जना घाइते

काठमाण्डु टुडे २०७६ असार ४ गते ११:११ मा प्रकाशित

काठमाण्डु, ४ असार – मंगलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन् । मंगलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलंगवा नगरपालिका–१२ गम्हरीयामा एक गरी दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हावाहुरीले ब्रहम्पुरी–५ पडरियामा एकतले घरको रेलिङ भत्काउँदा त्यसमा परेर ३० वर्षीय नन्द पासमान घाइते भएका हुन् । घाइते पासमानको छाती, पाखुरा, दाहिने हातमा गम्भीर चोट लागेको छ ।

त्यस्तै मलंगवा–१२ गम्हरीयामा जस्तापाताले छाएको कुखुरा फार्मको छानो हावाहुरीले उडाउँदा त्यसमा काम गर्ने एक कामदार घाइते भएका छन् । घाइते हुनेमा महोत्तरी जिल्ला परौल–६ बर्दिया घर घई हाल मलंगवा–१२ गम्हरीया कुखुरा फार्ममा काम गर्दै आएका ५७ वर्षीय लखन मण्डल रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए । जस्तापाताले उनको कम्मर र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

अहिले दुवै घाइतेकोे उपचार सर्लाही जिल्ला अस्पताल मलंगवामा भइरहेको छ । अत्यधिक तेजगतिको हावाहुरीले बालीनालीमा समेत क्षति गरेको किसानले जनाएका छन् । हावाहुरीले तरकारीबाली र आँपलाई बढी क्षति पु¥याएको चक्रघटना गाउँपालिका सगरदिनाका किसान बजै कुशवाहाले जानकारी दिए ।

यसैबीच करेन्ट लागेर सर्लाहीको रामनगर गाउँपालिकामा एक बालकको ज्यान गएको छ । रामनगर गाउँपालिका–१ डमार बस्ने रामसाह रामको पाँच वर्षीय छोरा रवि रामको करेन्ट लगेर ज्यान गएको हो । टेबुलमाथि राखिएको पङ्खाको प्लग जोड्ने क्रममा बालकलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us