लालबाबुको जन्म संसदबाट भएको हो, आकाशबाट होइनः लक्ष्मणलाल कर्ण

काठमाण्डु टुडे २०७६ असार २ गते ११:५८ मा प्रकाशित

काठमाण्डु, २ असार – राष्ट्रिय जनता पार्टी, नेपालले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने तर्फ गम्भीर भूमिका निर्वाह गर्न सभामुखसँग आग्रह गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद लक्षमणलाल कर्णले संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भुमिका निर्वाह गर्न सभामुखसँग आग्रह गरेका हुन् ।

राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई दिएको निर्देशन संवैधानिक निकायका प्रमुख र सरकारका मन्त्रीले मान्दिन भनेर संसदीय गरिमामाथि नै चुनौति दिने काम गरेको भन्दै कर्णले संसदको गरिमा, मर्यादा बचाउन अभिभावकको भूमिका निर्वाह गर्न सभामुखलाई आग्रह गरेका थिए ।

समिति र संसदको अवहेलना र उपहास नहोस् भन्ने तर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए । राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेकामा कर्णले आक्रोश पोखे । संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न निर्देशन गरेको र अत्यन्तै आवश्यक भए करारमा राख भनेको स्मरण गराउँदै उनले संसदको निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उलंघन गरेको दाबी गरे । कर्णले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगको आलोचना गरेका थिए ।

‘समितिको निर्देशन मान्दिन भनेर मन्त्रीले भन्ने ? मन्त्रीको जन्म यही संसदबाट भएको हो । मन्त्री आकाशबाट आएको होइन । मन्त्रीले बुझ्नुपर्छ । यो संसदले जन्माएको हो मन्त्री’, कर्णले भने, ‘लोकसेवा आयोगको अध्यक्षले भन्छ म मान्दिनँ । प्रवक्ताले भन्छ म मान्दिनँ । अब कसको कुरा मान्ने त ? संविधान पनि नमान्ने, कानुन पनि नमान्ने र संसदलाई पनि नमान्ने हो भने यो देश कसले चलाइरहेको छ ? एकजना मन्त्री र एकजना लोकसेवा आयोगले चलाउन सक्छ यो देश ? विज्ञापनको विरोधमा आन्दोलन भइरहँदा कसैलाई चिन्ता नभएपनि हामीलाई चिन्ता छ । यहीँ समानुपातिक समावेशीका लागि हामीले लडाई ग‍र्या हो, आन्दोलन ग‍र्या हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us