सरकारको नाटक कांग्रेसलाई स्वीकार्य छैनः दिलेन्द्र बडू

काठमाण्डु टुडे २०७६ असार २ गते ११:३४ मा प्रकाशित

काठमाण्डु, २ असार – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्दोलनको कांग्रेसले समर्थन गर्ने भन्दै विधेयक फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

उनले नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृतिक, सामाजिक मूल्यमान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरी सरकारले विधेयक ल्याएको दाबी गरे । गुठी विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति सिर्जना हुन सक्नेतर्फ समयमै सचेत नभए उत्पन्न गम्भीर परिस्थितिका लागि सरकार स्वयम् जिम्मेवार हुनेतर्फ पनि उनले सचेत गराए ।

प्रधानमन्त्रीले ‘सोचिने छ, विचार गरिने छ भन्ने ‘र सरकारकै प्रवक्ताले ‘सामन्ती अवशेष समाप्त पारि छाडिने’ भन्ने अभिव्यक्ति दिँदै आएको भन्दै उनले ‘कुटे जस्तो र रोए जस्तो’ सरकारको दोहोरो चरित्र कदापि स्वीकार्य नहुने भन्दै विधेयक फिर्ता लिन माग गरे ।

‘प्रधानमन्त्रीजी गुठी विधेयक संशोधन गर्न सकिन्छ भन्नुहुन्छ । सरकारका प्रवक्ता हुँदैन भन्नुहुन्छ,’ उनले भने, ‘कुटेजस्तो र रोएजस्तो गर्ने सरकारको नाटक हामीलाई स्वीकार्य छैन ।’

सरकारले सडकको आन्दोलन नदेखेको पनि उनले बताए ।

‘दमनको बाटो होइन वार्ता र संवादको बाटो सरकारले रोजोस्,’ उनले भने ।

उनले गुठी विधेयकले मौलिक संस्कार नामेट गर्न खोजेकोले फिर्ता लिनुपर्ने बताए ।

‘सरकार सडकको आन्दोलन देख्दैन अन्धो भएको छ,’ उनले भने, ‘आन्दोलनको मर्म र गाम्भीर्यतालाई सरकारले बुझ्न चाहिरहेको छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us