
काठमाण्डु, २ असार– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ लाई सरकारले संसदमा पेस गर्दा संशोधन गर्नुपर्ने बताएका छन् ।
नेकपा सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यहरूले सरोकारवालाहरूसँग पर्याप्त छलफल गरेर मात्रै विधेयक ल्याउन सरकारलाई दबाब दिएका छन् । वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यद्वय योगेश भट्टराई र मणि थापाले गुठी विधेयक स्थगन गरी सरोकारवालासँग छलफल गर्न सुझाव दिए ।
उनीहरूले सरोकारवालासँग छलफल नै नगरी विधेयक ल्याइएकाले संसदमा पेस गर्नुअघि नै विवादित बनेको र परिमार्जनको विकल्प नरहेको स्पष्ट पारे । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरोकारवालासँग छलफल नै नगरी विधेयक बनाउने र बाहिर हल्ला गर्ने विषय दुवै गलत भएको उल्लेख गर्दै परिमार्जन गर्नुको विकल्प नभएको बताए । ‘पहिलो कुरा विधेयक संसदमा प्रस्तुत भएकै छैन, विधेयक संसदमा नआइकन बाहिर आयो अनि हल्ला धेरै भयो । तर सरकारले पनि विधेयक तयार गर्दा सरोकारवालासँग छलफल गरेन । त्यसैको परिणामस्वरूप अहिले विरोध भइराखेको छ,’ खनालले भने । सरकारले विधेयकबारे पर्याप्त छलफल गरेर मात्रै संसदमा पेस गर्नुपर्नेमा जोड दिए । नागरिक दैनिकबाट
।