गुठी विधेयक कांग्रेसले पारित हुन दिँदैनः रामचन्द्र पौडेल

काठमाण्डु टुडे २०७६ असार १ गते १६:४३ मा प्रकाशित

काठमाण्डु, १ असार – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउँदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।

आइतबार चितवनमा पत्रकारसँगको कुराकानी गर्दै उनले महाधिवेशन नियमित हुनुपर्ने बताए ।

पार्टीको चार वर्षको कार्यकाल भएकाले नियमित ढंगबाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न नहुनेमा जोड दिँदै नेता पौडेलले भने, ‘अस्ति हामीले सभापतिलाई भेटेर भन्यौ, अब महाधिवेशनको प्रक्रिया शुरु गर्नुपर्छ तर कामको छाँटकाट भने छैन ।’

पार्टीको मुहानको रुपमा रहेको नेपाल विद्यार्थी संघको महाधिवेशन नगरेर भंग गर्ने काम गरिएकामा उनले रोष प्रकट गरे । पार्टीको जागरण अभियान प्रचारात्मक भए पनि संगठनात्मक रुपमा केही हुन नसकेको उल्लेख गर्दै नेता पौडेलले भने, ‘जागरण अभियान प्रचारात्मक भयो, कार्यकर्ता चलायमान भए तर संगठानात्मक रुपमा केही पनि भएन ।’

फरक प्रसंगमा गुठी विधेयक सरोकारवालासँग छलफल नगरी ल्याइएकाले यसले संस्कृति तथा परम्परालाई असर पु¥याउँछ भन्दै उनले सरकारले एकपछि अर्को गर्दै गल्ती गरिरहेको आरोप लगाए । नेता पौडेलले भने, ‘सरकारलाई गलत कार्यबाट रोक्ने काम हाम्रो हो, जनताको विरोध हुँदा हुँदै आएका विधेयक कांग्रेसले पारित हुन दिँदैन ।’ रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us