कांग्रेसको गोप्य कुरा छताछुल्ल भएपछि…

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते १५:२६ मा प्रकाशित

हेटौंडा, ३१ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेताहरुलाई पार्टीभित्रको असन्तुष्टिलाई सार्वजनिक रुपमा छताछुल्ल नगर्न आग्रह गरेका छन् ।

मकवानपुरको हेटौंडामा शुक्रबारबाट सुरू भएको नेपाल सांस्कृतिक संघको प्रशिक्षण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले पार्टीभित्रको असन्तुष्टिलाई आन्तरिक रुपमा छलफल गरेर समाधान गरिनुपर्ने बताएका हुन् ।

‘एकअर्काका गुनासाहरु, असन्तुष्टिहरु छन् भने पार्टीको संरचना छ, त्यो भित्रमात्रै छलफल गरौं । त्यहाँबाट निष्कर्ष निकालौं । निष्कर्ष निस्केपछि त्यसको पछाडि लागौं,’ उनले संस्थापन इतर समूहका नेताहरुलाई इंगित गर्दै भने, ‘प्रचारबाजीमा होइन, पत्रिकाबाजीमा होइन, रेडियो–टीभीमा होइन पार्टीको सम्बन्धित संरचनाभित्र सम्पूर्ण साथीहरु हुनुहुन्छ, त्यहाँ छलफल गरौं ।’

उनले आगामी महाधिवेशनको तयारीलाई विषयान्तर गर्न राष्ट्रिय जागरण अभियान ल्याइएको भन्ने संस्थापन इतर समूहको आरोपको खण्डन गरे । ‘विषयान्तर गर्न जागरण अभियान ल्याइएको होइन,’ सहमहामन्त्री महतले प्रश्न गरे, ‘‘काम नगर्दा काम गरेन भन्ने, काम गर्दाखेरी गर्न नपर्ने कुरो भन्न मिल्छ ?’

उनले पहिलो चरणको अभियानमा देखिएका कमी कमजोरीलाई सुधारेर दोस्रो चरणको अभियान सञ्चालन गरिने जानकारी दिए । महतले दोस्रो चरणको अभियान सुरू हुन अगाडि नै पार्टीको संगठनिक संरचनालाई संघीय संचरना अनुसार विस्तार गरिने, गठन हुन बाँकी रहेका विभाग र समिति गठन गरिने र भ्रातृ संस्थाहरुलाई पूर्णता दिइने बताए ।

सरकारको काम गराइका कारण जनता कम्युनिस्ट पार्टीलाई मत दिएकोमा पछुताइरहेका भन्दै उनले भने, ‘जनता कम्युनिस्टलाई भोट हालेकोमा पछुताई रहेका छन् । नेपाली कांग्रेसलाई यसै मानी हाल्छन् नि भनेर हात बाधेर समर्थन लिन सकिदैन । सक्रियता, क्रियाशिलता र एकता जरुरी छ ।’

पार्टीमा सक्रियता, क्रियाशिलता र एकता कायम गर्न पहिलो चरणको एक महिने जागरण अभियान केही हदसम्म सफल भएको सहमहामन्त्री महतको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us