कांग्रेस सांसदलाई सभामुखले १ मिनेट समय नदिएपछि…

काठमाण्डु टुडे २०७६ जेठ २८ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, २८ जेठ –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सभामुख कृष्णबहादुर महराले सत्तारुढ दलका सांसद र आफूहरुलाई समय दिँदा विभेद गरेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार शून्य समयमा समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र श्रेष्ठले समय सकिँदा पनि बोल्न दिएपछि कांग्रेस सांसदहरुले गुनासो गरेका हुन् ।

‘सत्तापक्षका सांसदलाई एक मिनेटभन्दा बढी समय दिने, हामीलाई नदिने ?’, कांग्रेस सांसद देवेन्द्रराज कँडेलले भने, ‘सबैलाई बराबरी समय दिनुपर्यो सभामुख महोदय ।’

श्रेष्ठपछि महराले कांग्रेस सांसद देवप्रसाद तिमल्सिनालाई बोल्न समय दिए । तिमल्सिनाले पनि समयमा विभेद गरिएको गुनासो गरे ।

‘सभामुख महोदय, सत्तापक्षले सात मिनेट बोल्ने हामीले एक मिनेटमात्र समय पाउने सभामुखज्यु ’, सांसद तिमल्सिनाले भने । उनले कुन नियमावलीका आधारमा सत्ता पक्षका सांसद र प्रतिपक्षका सांसदलाई समय निर्धारणमा फरक गरिएको हो सो बारे सभामुखसँग जानकारी पनि माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us