
काठमाण्डु, २८ जेठ – गृहमन्त्री रामबहादुर थापा बादलले गुठी विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएको समूहबाट प्रहरीमाथि ढुंगामुढा गरेका कारण बल प्रयोग गर्नुपरेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा सरकारको तर्फबाट जवाफ दिँदै गृहमन्त्री बादलले सार्वजनिक आवागमनलाई अवरोध गरेका कारण पानीको फोहरा प्रहार गरेको बताएका हुन् ।
‘गुठी विधेयकका प्रावधानमा सम्पदा बचाउ अभियान लगायत दुई–तीन सयले विरोध प्रदर्शन गरेका थिए । सार्वजनिक आवागमनलाई अवरोध खडा गरेका थिए । सार्वजनिक आवागमन नरोक्न प्रहरीले धेरै पटक अनुरोध गरेको थियो । तर, प्रदर्शनकारीले स्वीकार गरेनन् । यातायात अवरोध जारी राखेका कारण पानीको फोहोरा प्रयोग गरेर तितरवितर गरिएको र पानीको फोहोरा हान्ने क्रममा तितरवितर नभएपछि सामान्य बल प्रयोग गरेको हो,’ मन्त्री थापाले भने ।
मन्त्री थापाले शान्तिपूर्ण विरोध गर्ने अधिकारलाई बर्बर दमन गर्यो भन्ने कुरा सही नभएको बताए । साथै गृहमन्त्रीले प्रर्दशनकारीको तर्फबाट ढुङ्गामुढा हानिएकाले सुरक्षाकर्मीहरु घाइते भएको बताएका छन् ।
गृहमन्त्री थापाले आन्दोलनका क्रममा राज्यपक्ष र सुरक्षाकर्मीले कानुन मिचेर अभद्र व्यवहार गरेको भए कानुनी कारबाहीमा ल्याउने दावी गरे ।
‘कानुन विपरीतका घटनाको छानबिन प्रक्रिया सरकारले अघि बढाएको छ । राज्य वा प्रदर्शनकारी दुवैका तर्फबाट भएका काम कारबाहीको छानविन हुन्छ । सुरक्षाकर्मी दोषी भएमा पनि कारबाहीको दायरामा आउँछ,’ गृहमन्त्री थापाले भने ।