
काठमाण्डु, २८ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो सरकार चलाउने विषयमा सहमति भइसकेको बताएका छन् ।
सोमबार साँझ बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकताकै समयमा सहमति भइसकेको विषय भएकाले यसलाई धोरै उचाल्न नहुने बताएका छन् ।
उनले भने, ‘एकीकृत पार्टी बनिसकेको अवस्थामा सबै कुरा पार्टीको निर्णय अनुसार हुन्छ । यसअघि नै सहमति भइसकेको छ । यस विषयमा धेरै बोलिहरनुपर्र्दैन ।’
सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच आलोपालोबारे पार्टीभित्र छलफल नभएको बताएका थिए ।
पोखरेलले पार्टीका दुई अध्यक्षबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने भन्ने कुरा पार्टीभित्र औपचारिक ढंगमा छलफल नभएको बताएका थिए ।