सिके राउतलाई विश्वास नगरौँः भीम रावल

काठमाण्डु टुडे २०७६ जेठ २८ गते १०:२३ मा प्रकाशित

बैतडी, २८ जेठ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इञ्चार्ज भीम रावलले सिके राउतलाई विश्वास गर्न नसकिने बताएका छन् ।

बैतडीमा सञ्चारकर्मीसँगको कुराकानीमा नेता रावलले सिके राउतले अझै पृथकतावादी समूह नत्यागेको दावी गरेका हुन् ।

‘सिके राउतले अझै पृथकतावादी समूह त्यागेका छैनन्,’ रावलले भने, ‘उनलाई तत्कालै विश्वास गर्न हुँदैन ।’

नेता रावलले प्रेसलाई अङ्कुश लगाउन नहुनेमा जोड दिए । प्रेसलाई स्वतन्त्ररूपमा काम गर्न दिनुपर्ने उनको भनाई थियो ।

प्रेसलाई अङ्कुश लगाउने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै नेता रावलले भने, ‘प्रेस राष्ट्रको चौथो अङ्ग हो, प्रेसलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ ।’ सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई लक्षित गर्दै रावलले भने, ‘पत्रकारले स्वयं जिम्मेवार बन्नुपर्छ, प्रेसको अधिकार र स्वतन्त्रता कुण्ठित गर्नु हुँदैन ।’

नेता रावलले बजेटमा सुदूरपश्चिम प्रदेश सधैँ ठगिने गरेको बताए । ‘सरकारले सुदूरपश्चिम प्रदेशलाई दिने बजेट गत वर्षभन्दा घटेर आएको छ’, उनले भने, ‘समाजवादको बाटोमा जान बजेट बढाउनु पर्छ ।’

सुदूरपश्चिम प्रदेश कृषि तथा पर्यटनमा धनी प्रदेश भए पनि सरकारले सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उनको भनाइ थियो । रावलले भने, ‘पश्चिमसेतीलाई पनि अघि बढाउने हो भने सुदूरपश्चिमको मात्रै नभएर समग्र मुलुककै भविष्य उज्यालो हुनेछ ।’

निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई बिर्सन नहुने भन्दै उनले पछिल्लो समय सरकार र जनताबीच रिक्तता बढेको बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us