संसद बैठक बस्दै, यस्तो छ कांग्रेसको तयारी

काठमाण्डु टुडे २०७६ जेठ २८ गते १०:१९ मा प्रकाशित

काठमाण्डु, २८ जेठ – गुठी विधेयकलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरुद्ध गरेपछि स्थगित प्रतिनिधि सभाको बैठक आजका लागि बोलाईएको छ । बैठक विनियोजन विधेयकमाथि छलफल सुरु गर्ने कार्यसूची सहित बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

गुठी विधेयक खारेजीको माग गर्दै बिरोधमा रहेका गुठियार लगायत सम्पदा संरक्षण अभियन्तामाथि सरकारले बल प्रयोग गरेको भन्दै कांग्रेसले अवरोध गरेपछि हिजोका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो । सरकारी दमनबारे गृहमन्त्री रामबहादुर थापाले जवाफ दिनु पर्ने अडान कांग्रेसले लिएपछि बैठक आजसम्मका लागि स्थगित भएको हो ।

संस्कृति एवं धार्मिक क्रियाकलापको संरक्षणका लागि स्थापित गुठीमाथि हस्तक्षेप गर्न खोजेको भन्दै काठमाण्डुमा आइतबार भएको प्रदर्शनमा सरकारले पानीको फोहोरा प्रयोग गर्नुका साथै लाठी प्रहार समेत गरेको थियो ।

कांग्रेस सचेतक पुष्पा भुषालले गृहमन्त्री थापाबाट चित्त बुझ्दो जवाफ नआएसम्म सदनको कामकारवाही अघि बढ्न नदिने चेतावनी दिइन् । सरकारले बजेट आश्रित विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत तेईसौं संशोधन विधेयक गत बिहीबार सदनमा टेबुल गरेको थियो ।

पहिलो दिन आज युवा तथा खेलकुद, सहरी विकास र अर्थ मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफलको कार्यसूची छ । संघीय संसद सचिवालयले हिजोबाट असार २ गतेसम्म विनियोजन विधेयकमाथि छलफल गराउने र ३ देखि ६ गतेसम्म सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय गरेपनि कांग्रेसको अवरोधका कारण प्रभावित हुने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us