अब कांग्रेसले यसो नगरे जनता तान्न सकिँदैनः प्रकाशमान सिंह

काठमाण्डु टुडे २०७६ जेठ २६ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, २६ जेठ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्न नसक्ने बताएका छन् । कांग्रेसले आफूलाई विधि विधान अनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म इतिहासलाई भजाएर आफूतिर जनता तान्‍न नसकिने उल्लेख गरेका छन् ।

आइतवार नेपाली कांग्रेस सुर्खेतले गरेको कार्यकर्ता भेटघाटमा बोल्दै पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले कांग्रेस आफू पनि सच्चिनँ तयार रहनुपर्ने बताए । उनले २००७ साल, २०३६ साल, २०४६ सालको इतिहास भजाएर जनताले विश्वास गर्न नसक्ने र त्यसका लागि पार्टीभित्र संस्थागत सुधार गरी विधि विधानबाट चलाएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने उल्लेख गरे ।

गाउँ जागरण अभियानका क्रममा कार्यकर्ताहरुले कांग्रेसलाई संस्थागत सुधार र पार्टीको आन्तरिक कलह मेटाउनुपर्नेजस्ता सुझाव दिएकाले नेतृत्व तहले गम्भीर भएर सोच्नुपर्ने बताए । उनले जनताबाट प्राप्त सुझाव अनुसार कांग्रेस परिवर्तन हुनुपर्ने जिकिर गरे ।

यसैगरी उनले संसदमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको दावी गरे । दुईतिहाइको सरकारको मनपरी र अधिनायकवाद शैली सशक्त प्रतिकार गर्दै आएको उनले दाबी गरे । ओली सरकारले एकपछि अर्को गर्दै विभिन्‍न विधेयक ल्याएर अधिनायकवाद लाद्‍न खोजेको आरोप लगाउँदै नेता सिंहले त्यसका विरुद्ध कांग्रेसले संसदमा सशक्त प्रतिकार गरेको उल्लेख गरे ।

‘चुनावमा कम्युनिष्टले जिते रुन पनि पाइँदैन, अधिनायकवाद लाद्छन भन्दा कांग्रेसले के के बोलेको भन्थे’, उनले भने, ‘आज प्रेसमाथि अंकुश लगाउने मिडिया काउन्सिसल विधेयक ल्याएपछि बल्ल संचार जगतको होस खुलेको छ ।’

सरकारको पक्षमा समाचार नलेखे जेल जानुपर्ने अवस्था आएपछि सञ्चारकर्मी नै रुनु परिरहेको उनले बताए । कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढताकासाथ उभिने समेत उनले बताए । कांग्रेसले नै संविधान जारी गरेकाले त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि कांग्रेसकै भएको उनको भनाइ थियो ।

संविधानमाथि धावा बोल्नेविरुद्ध कांग्रेस जाइलाग्ने पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us