लोकसेवाको विज्ञापन फिर्ता गर्न नेकपा सांसदकै दबाब

काठमाण्डु टुडे २०७६ जेठ २२ गते १३:५२ मा प्रकाशित

काठमाण्डु, २२ जेठ – सत्तारुढ दलकै सांसदहरुले लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सरकारलाई चर्को दबाब दिएका छन् ।

सत्तारुढ समाजवादी पार्टी, नेपालका नेता एवम् सांसद रामसहायप्रसाद यादवले संघीयता, संविधान र कानुनविपरीत स्थानीय तहको समेत कर्मचारी नियुक्त हुने गरी लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता नलिए देश गम्भीर द्वन्द्वमा फस्ने चेतावनीसमेत दिए ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका बोल्दै उनले स्थानीय तहको आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा समेत लोक सेवा आयोगले विज्ञापन गरेपछि त्यसको विरोधमा देशभर आन्दोलन सुरु भएको उल्लेख गर्दै त्यसलाई तत्काल नसच्याए देशमा ठूलो द्वन्द्व निम्तिनेतर्फ सरकारलाई सचेत पनि गराए ।

लोक सेवा आयोगले केही दिनअघि प्रदेश र स्थानीय तहमा समेत कर्मचारी नियुक्त गर्ने गरी विज्ञापन खुला गरेको थियो । त्यो विज्ञापन संविधान र कानुनविपरीत आएको सांसद यादवको दाबी छ । उनले स्थानीय तह आफैले कर्मचारी नियुक्त गर्न पाउने संवैधानिक अधिकार लोक सेवा आयोगले कटौती गर्न नपाउने पनि स्पष्ट पारे ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले देशमा थप आर्थिक बोझ हुने गरी लोक सेवा आयोगले कर्मचारीको नियुक्तिका लागि विज्ञापन खुला गरेकोमा आपत्ति जनाइन् । उनले कर्मचारी कटौती गर्ने र उनीहरुको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराइन् ।

गरिब नागरिकले तिरेको ट्याक्सबाट कर्मचारी र जनप्रतिनिधिहरुलाई सेवा, सुविधा थप गर्ने काम गर्नु अपराधसरह भएकाले कर्मचारीहरुको सेवा, सुविधा बढाउने काम सरकारले गर्न नहुने सांसद भुसालको भनाइ छ ।

सांसदहरुले कर्मचारीहरुको अभाव भए तत्कालका लागि करारमा राख्ने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us